Advertisement

‘रवीन्द्रका अनुहारमा समृद्धि झल्कन्थ्यो’

तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रूपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरे


पोखरा । तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी विकासका संवाहक साथै एक दूरदर्शी नेताका रूपमा रहेको विभिन्न क्षेत्रका वक्ताले चर्चा गरेका छन् । अधिकारीको ५२ औंँ जन्मजयन्तीका सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रष्ठिानद्वारा आयोजित ‘विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीका वक्ताले अधिकारी विकासको स्पष्ट धारणा बोकेर गन्तव्यमा लम्केको नेताका रूपमा चित्रण गरे ।

अधिकारीका अनन्य मित्र बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले विकासका लागि राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो । प्रा डा भरतराज पहारीले विकासलाई आध्यात्मिक चेतनासँग जोड्नुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिका, शहरी विकास आयोजनाका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले अधिकारीमा विकासको हुटहुटी निकै रहेको जनाउँदै उहाँ दिगो विकासका बारेमा निरन्तर संवादमा रहने गरेको स्मरण गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले अधिकारीको अनुहारमा समृद्धि झल्कने गरेको बताउँदै आयोगमा उहाँको गतिशीलता र बौद्धिताको चर्चा हुने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अधिकारीका सहकर्मी एवम् राजनीतिक विश्लेषक झलक सुवेदीले रवीन्द्र अधिकारी स्मृति ग्रन्थमा अधिकारीका जीवनका विभिन्न मोडमा संगत भएका सहकर्मी, सहपाठी, विद्यार्थी आन्दोलनदेखि सिंहदरबारसँग जोडिएका विषय समावेश भएको र नेपाली राजनीतिको ४० वर्षे कालखण्डको एउटा सशक्त दस्तावेज भएको बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिमा विकासप्रेमी नेता अधिकारीको अभाव खड्केको बताउनुभयो । प्रतिष्ठानका महासचिव धनराज आचार्यले विकासका पर्यायवाची अधिकारीको सिद्धान्तलाई अवलम्बन गरेर विकासका बाटामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं अधिकारीकी जीवनसंगिनी विद्या भटराईले अधिकारीले समृद्ध नेपालका लागि देखेको योजनालाई साकार पार्न आफूहरू प्रतिवद्ध भएको बताउनुभयो ।

गोष्ठीमा देशविदेशबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गरेका व्यक्तिको सहभागिता थियो । यसअघि प्रतिष्ठानका आयोजनामा पोखरा– १८ साराङ्कोटस्थित शहीद तथा राष्ट्रिय विभूति उद्यानमा रहेको अधिकारीका शालिकमा माल्यार्पण गरिएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement