Advertisement

६६७ कृषकलाई आलुको बीउ


तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ । राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो ।

निलो आलु ११ हजार ५०० किलो, जनदेव (रातो आलु) १८ हजार ५०० किलो र पिभिएस आलु दुई हजार २०० दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक भरत जैसीले बताउनुभयो ।

उक्त वडामा मात्रै चार लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त आलुको बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ । बिक्रीको समस्या नरहने भएकाले आफ्नै वडामा नै खपत गरिने योजना छ ।

“खेत बाँझो नराखौँ’ भन्ने अभियान नै वडाले सञ्चालन गरेको छ । हिउँदमा धान काटेपछि अधिकांश खेत बाँभैm राख्ने गरिएकाले अभियान चलाइएको वडाले जनाएको छ । बाँझो जमिनमा आलुलगायत तरकारी तथा तोरी खेती गर्न वडाले कृषकलाई प्रोत्साहन गरेको छ ।

हाल खेत बाँझो नराख्न र आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । वडाले खरिद गरी ल्याएको माटो परीक्षण मेशिनबाट उक्त क्षेत्रको माटो परीक्षण गर्दा आलु खेतीको लागि उपयुक्त देखिएकोले कृषकलाई अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो ।

कृषकलाई ५ देखि ६०० किलोसम्म आवश्यकताको आधारमा आलुको बीउ उपलब्ध गराएर प्रदान गरिएको हो । उक्त वडा आलु खेतीको लागि प्रख्यात मानिँदै आइएको छ । वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र निर्माण गर्न लागेको चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ ।

करिब रु तीन करोडको लागतमा सोही वडाको तालिममा चिस्यान केन्द्र निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढी रहेकाले कृषि नै आम्दानीको लागि भरपर्दो माध्यम भएकाले ठाउँ सुहाउँदो खेती गरेर जग्गा बाँझो नराख्ने कार्यलाई अभियान नै रुपमा सञ्चालन गर्न लागिएको सो वडा कार्यालयले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement