Advertisement

कविता: राजनीति कि लाजनीति ?


सेतोलाई कालो देख्नुपर्ने,
कालो कर्तुतहरू छोप्नुपर्ने,
मनको सत्य लुकाएर
असत्य बोल्नुपर्ने !
————–
जनताकै लागि हाम्रा नेता !
असल हुन् भन्दै बोल्नुपर्ने ?
राष्ट्रियताको खोल ओढ्नुपर्ने,
नेतृत्वका काला कर्तुत ढाक्नुपर्ने !
जनता ढाँट्न बहानामा बोल्नुपर्ने ?
————–
नेतृत्वले गरेको फोहोर सोर्नुपर्ने,
नेतृत्वकै महत्वकांक्षामा मर्नुपर्ने !
पछि हट् भन्दा हट्नुपर्ने बढ् भन्दा बढ्नुपर्ने,
गलत नेतृत्वको बफादार कुत्ता बन्नुपर्ने !
—————
नेतृत्वको गलत अभ्यास बोक्नुपर्ने,
सत्य र न्यायका आवाज छोड्नैपर्ने !
फरक आस्था र ईच्छा समेत तोड्नैपर्ने !
नेतृत्वको गलत अभ्यास समेत छोप्नैपर्ने !!
—————–
कार्यकर्ताले अचेत बनेरै सहनुपर्ने ,
असक्षमको पनि तारीफ गर्दै बस्नुपर्ने !
पार्टीका नाममा असक्षमलाई चिल्लो धस्नुपर्ने,
ईच्छा विपरित काया कैरनमै बस्नुपर्ने ।।
——————
यथार्थमा राजनीति त्यो हो,
समाज उत्थानमा योगदान गर्ने
राजनीतिले नै हो,
सारा दुनियाँ सपार्ने,
राजनीतिले नै हो,
सुशासन र सदाचार बसाल्ने ।
राजनीति ले नै हो ,
सुशासन र संमृद्धिको
आकाङ्क्षा पूरा गर्ने ।।
—————
उदण्ड कालो कर्तुत तह लगाउने,
राजनीतिले नै त हो ।
भाँडभैलो बेथितिको झाँको झार्ने,
राजनीतिको सतकर्मले नै हो ।
तानाशाह र बादशाह पछार्ने,
राजनीतिले नै त हो ।
लोकतान्त्रको सच्चा थिति बसाल्ने,
असल राजनीतिले नै त हो ,
समृद्धिको खाका कोर्दै ढोका उघार्ने,
राजनीतिकै कमाल त हो ।
—————–
तर यहाँको राजनीति फरक छ,
व्यक्ति स्वार्थमा राजनीति अडेको छ,
झुट मुट खेतीमा राजनीति फलेको छ !
पटकैपिछे असक्षमको नजर बलेको छ।
————-
हाम्रोमा राजनीतिको अर्को नाम हो,
दुनियाँ समाजलाई बराल्ने !
युवाहरूलाई खाडीमा पठाएर,
यहाँ बुढाहरूले शासन गर्ने ।
तन्नेरीहरू गलत बाटोमा बरालेर,
नातागोतालाई सत्तामा अघि सार्ने ।।
———

अत:
उदण्ड कालो कर्तुतलाई तह लगाउने,
राजनीतिले नै त हो ,
भाँडभैलो बेथितिको झाँको झार्ने ,
राजनीतिक चरित्र र चेतनाले नै त हो।
————-

– ठाकुर पोखरेल

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement