कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’

पढ्न लाग्ने समय : मिनेट

सन्तोष रुचाल, काठमाडौं । धनकुटाका पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले संग्रह सार्वजनिक गर्नुभयो ।

पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरू’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रूपमा अवस्थित धनकुटा बजार अर्थात गौंडालाई उजागर गरेको बताउनुभयो । यस कविता संग्रहले त्यहाँको रीतिरिवाज, संस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा.रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताउनुभयो । उहाँले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

                                 धनकुटाका इस्टेनीहरू

धनकुटामा मात्र बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रूपमा रहेको गौंडालाई बिम्बको रूपमा कवितामा पस्किएको बताउनुभयो । कार्यक्रममा साहित्यकार तथा प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राई लगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको बताउनुभयो ।

‘बुढो गौंडा र इष्टेनीहरू’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशासनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएको आफूले पुनःस्मरण गराउन चाहेको बताउनुभयो ।

कार्यक्रममा धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिलाहरू मौलिक भेषभुषामा उपस्थिति हुनुहुन्थ्यो भने आठपहरिया समुदायका महिलाहरूलाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् । कान्तिपुर दैनिकका धनकुटा उपसम्पादक रहनुभएका अधिकारीले चार वर्ष अगाडि गीत संग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गर्नुभएको थियो ।