मृत्युको रङ्ग
जन्मदिनको एक उत्सव मनाउँन नपाउँदै
मशानघाटमा-मृत्यु पर्खिरहेको रै”छ, सम्झन्छु ।

लाजले नजर नजुधाई- केवल हृदय चोरिएको काण्ड
जस्को मुद्दा न म जित्न सक्थेँ-न तिमी ।
चुपचाप बगरका ढुङ्गाहरूले तारीख बोकेझैँ गिज्याई रहन्थे
तिम्रो अट्टाहाससँग चूर भएकै हो बादल पनि ।
हिर्काएकै हो – चिसो सिरेटोले साँझमा
म- पुतली तिम्री, के बुझ्थेँ रसका रङ्गहरू ।
म खोज्दै थिएँ – रङ्ग चिन्ने आँखाहरू
म रोज्दै थिएँ – मुटु नचुँडिएका तारहरू ।
तर कस्तो निष्ठुरी समय !
उद्देश्य होईन – उज्ज्यालो खोसिदियो।
जीवनको कुनै चौतारीमा – म पल्टिरहँदा
मिठो स्पर्शले सबेरै उठ्नुपर्ने संकेत गर्थ्यो ।
बगैचाका फूलहरूको गोडमेल गर्न
सायद यहि बुझ्थेँ म, युगौँ बाँच्ने आशाको त्यान्द्रोमा ।
अहिले बुझेको होईन, बुझ्न बाध्य छु- अस्ताउनै पर्ने
साँझमा हिमालको गहना बनिदिने तिमी ।
थुप्रै कठोर हृदय जित्न सफल भयौ
कुनै सन्देह राख्दिन तिमीसँग, मेरो छोटो आयुप्रति ।
मैदानमा उत्रिएकै हो – मायाको युद्ध लड्न
सकेनन् जुध्न- आपसमा, असभ्य, कुरूप, कायर वाणहरू ।
त्यसो त, ईश्वर नपुज्ने मान्छे म
तिम्रो ईश्ववरको वरदान – कसरी जित्न सकूँ म ।
तिमी रमाऊ- आफ्नै संसारमा, प्रिय सैनिकहरूसँग
नछुनु कहिल्यै – आफ्नो हातले, भुलेर पनि अब मेरो छायाँ ।
सहानुभूतिका तिम्रा शब्द नै प्रिय र काफी लाग्छन्,
हो, म कत्ति पनि रिसाउँदिन – तिम्रो व्यावहारसँग ।
तिमीले मलाई गरेका घृणाहरू- उपहार हुन्
जुन- वसन्तमा पलाएका मुना भन्दा कोमल र सुन्दर लाग्छन् ।
वचनको झापड – सम्झना हो – प्रेम हो
जो – कोईलीको कुहुकुहु – कस्तुरीको सुगन्धभन्दा कम छैन ।
हो प्रियतम् !!!
तिम्रो रोजाईमा पर्खाई राखेको
मशानघाटलाई समेत – प्रेम गर्छु म ।
जति तिमीलाई गर्थें
जस्लाई तिम्रा रङ्गिन सपनाहरूले – छोप्न सकेनथ्यो ।।।
-शारदा धिताल