Advertisement

सिद्धान्तको अवशान


डियर कमरेड खै किन हो किन,
तिमीले बाँडेका नाराहरू पनि मीठा सपना बाहेक केही लाग्दैनन् अचेल,
जो हरेकदिन देखिन्छन् तर कहिल्यै पूरा नै हुँदैनन् किन !!!

अचेल त तिमी, श्रमिकलाई भन्दा बढी कर्पोरेट हाउसका मालिकलाई भेट्छौ रे
ठेगेदार, माफिया, बिचौलिया बाहेक अरुले त तिमीलाई भेट्नै पाउँदैनन् रे,
तिमी नै भन्छौ रे, पसिना गन्हाउनेलाई होइन,
अत्तर छर्किएर आउनेलाई मात्रै भेट्न पठाउनु !!!

तर, केही दिन अघिसम्म तिमीले चिया पिउने फुटपाथकी माईली दिदी,
अझै पनि तिम्रै प्रतीक्षामा छिन रे, ठूलो मान्छे भएपछि उनलाई बिर्सियौ रे,
तिमी पहिला हात्तीछाप पड्काउँदै हिँड्दा सधैं माईली दिदीकोमा जान्थ्यौ !!!

तर, अचेल कारमा गुड्न थालेपछि बिर्सियौ रे माईली दिदी,
अनि महिनौसम्मको उधारो चिया, बरु माईली दिदीको चिया पसलसम्मै धुलो पुग्ने गरी,
हुइक्याउँछौ रे चिल्लो कार उनले हेर्दा पनि दाग लाग्ला जसरी !!!

डियर कमरेड,
मेरो मगजमा त अझै ताजा छन् तिमीले छाँटेका सिद्धान्तका कुरा,
तिमीले गरेका बाचा, तिमीले बोलेका हरेक शब्द,
तर, आज खोई कसरी भनौ म तिमीलाई ओई हर्के कमरेड,
शंका लाग्छ अहिले तिमी त्यही क्रान्तिकारी हौ त !!!

जसले निरंकुश शासकहरूलाई तह लगाएको थियो,
श्रमजीविको पक्षमा उँभिएर चर्का नारा दिएका थियो
हिजो शासकलाई चोर औंला ठड्याउने तिमी,
आज आफैँ पो शासक भएछौ !!!

तिम्रो नामको अघि पदवी नराखी बोलाउन नमिल्ने भएछ अब
तिमीले गरीब, श्रमजीविहरूलाई होइन,
डलरको खेती गर्नेहरूलाई मात्रै भेट्छौ रे !!!

ओ कमरेड,
म कसरी पत्याऔं तिमी पदको भोको थियौ,
पद पाउने बित्तिकै सिद्धान्त भुल्यौ, श्रमजीवि भुल्यौ, माईली दिदी भुल्यौ,
गरिबका नाम बेचेर गरेको राजनीतिले !!!

तिमीलाई सर्वाहाराका प्रतिनिधि होइन पूँजीपति पो बनाएछ,
वाह ! महान् पूँजीपति कमरेड तिमी त बदलियौ,
सँगसँगै तिम्रा श्रमजीविको सिद्धान्त पनि आजबाटै अवशान भयो !!!

 

-कान्ति न्याैपाने

 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement