Advertisiment

“चाहना”


चाहना

धेरै भएछ घर छोडेको
ती बारीका कान्लाहरूमा
त्यो आँगनमा
यी पाइलाहरू चाल्न नपाएको ।

तिमीलाई त हिजोजस्तो लाग्दो हो
मलाई पोका पुन्तुरो बोकाएर
शहर पुर्‍याएको ।

त्यो मन्दिरको अघि
लामो धड्कनजस्तो
घण्टा टङ टङ बज्दै गर्दा
आमा तिमी यहाँ बस्दै गर
म केहि क्षणमा आउँछु भनी
वेपत्ता भएको ।

तिमी गएको दिसातर्फ
हेरेको पनि धेरै भएछ
तिमी गएको दिसातर्फ
ठिङ्ग उभिएको त्यो शिरिषको रूख ।

पाउलिएको छ/सात खेप भयो
त्यसपछि गन्न छाडेको कति भयो
तिमी सानो छँदा
घाँस दाउरा, मेलापात जाँदा
मजदुरी गर्न जाँदा, जहिल्यै हुट्हुटिएर
तिमीलाई हेर्न घर आइ पुग्थेँ ।

उम्लिएको पानीजस्तो मुटु
तिमीलाई अङ्गालोमा कसेपछि
शान्त हुँदै जान्थ्यो
छोरा तिमी त्यसरी नै हुट्हुटिएर कुनै दिन
मलाई हेर्न आउँछौ भन्ने आशा गरेकी छु ।

आशा हुँदै नहुनु भन्दा
पूरा नहुने आशा हुनु उत्तम रहेछ
त्यही आशाको त्यान्द्रो समाई
बाँच्न सहज हुँदो रहेछ ।

तिम्रो पुक्के गाला छात्तीमा टँसाएर स्तनपान गराउँदा
तिमीले स्तन नचुस्दा म झस्किन्थेँ
अलिक ठूलो हुँदा,
खाना नखाई दिँदा म झस्किन्थेँ ।

तिम्रो पुक्के गाला मुसारेर
को खाइ को खाइ भन्दै
तिमीलाई एक गाँस खुवाउँदा
मेरो दिल डेलियाको थुङ्गालाई
हावाले हल्लाए झैँ, खुशीले हल्लिन्थ्यो ।

तिम्रो भोटो मैलो हुँदा
डल्ले धोबी साबुनले धोएर
सफा बनाइ लगाइ दिन्थेँ
जहिल्यै सुकुमार कन्चन राख्थेँ ।

छोरा तिमी कुनै दिन आएर
यतिको लामो समय
मीठो खान नपाएको यो मुखमा,
मेरो चाउरी परेको गाला मुसार्दै
केहि गाँस मिठो भोजन खिलाउछौ भन्ने
आशा गरेकी छु ।

धेरै अघि लट्टे सूचिकारको खेतमा काम गरेबापत
ज्यलाको रूपमा दिएको यो बुट्टेदार गुन्यु चोली
धेरै मक्किएको छ, धेरै मैलो भएको छ ।

तिमी कुनै दिन आएर
धोइ दिन्छौ वा फेरी दिन्छौ भन्ने आशा गरेकी छु
आज मेरो नभएको घर सम्झेँ
त्यो घर मेरो नभएको धेरै भएछ
तर त्यो घरमा तिमी छौ, तिम्री पत्नी छिन्, नाता नातिनी छन्
र, मेरा यादहरू छन् ।

तिम्रो बाबा बित्दा
कात्रोसम्म किन्न ऋण लागेको याद छ
तिमीलाई स्कूल पढाउँदा
एनाकोण्डाको छाला झैँ
टाटे पाङ्ग्रे टालेको कपडा लगाएको याद छ ।

तिमी हैजाले सिकिस्त हुँदा
बर्कीले पिठ्युँमा बोकेर
घण्टौं टाढाको उकालो बाटो हिडेर
कुर्कुच्चा प्वाँल परेको पुरानो हात्ती छाप चप्पल लाएर
कटुसको दाना माथि
चिप्लेटी खेल्दै
अस्पताल पुर्याएको याद छ
मेरो केही नभएको घरलाई आज सम्झेँ
यस कारण मैले सम्झेँ ।

त्यहाँ अझै मेरो केही चिनो होला
तिमीलाई जन्माउन
म प्रसुती वेदनामा तड्पिँदा
छर्रा गोलि झैँ छरिए
भित्तातिर लागेको रगतको दाग होला ।

मैले छोएको हरेक भित्ता, बर्तन्, बार्दली आदिमा
अझै मेरो औंलाको चक्र छाप होला
तिम्रो गालामा पनि मेरो हातको
मायालु छाप होला ।

सायद हरेक बिहान दाह्री खौरँदा
देखेर पनि नदेखे झैँ गर्छौ होला
घुर्‍यानतिर मेरो मजेत्रो, टेक्नै नहुने चप्पल्,

केही कपडा अनि तिमीलाई हुर्काउँदा
मैले जतन गरेर राखेको थाङ्नाको पोका
सँगै झट्याएको होला ।

पुजा कोठामा मेरो निधारलाई अन्तिम पटक चुमेको
चन्दनको ढिस्को खक्रक्क सुकेर बसेको होला
अहिले त आशा र यादको बीचमा च्यापिएँ ।

पौष माघको तुसारोमा
आफ्नै शरीरको ताप तापेर बस्नुपरेको छ
तातो पानी पिउनलाई, पेटमा तताउनुपरेको छ ।

छोटो जिन्दगी भन्छन्
मलाई लामो लागेको छ
साँझमा भाष्करको रश्मिसँग चुम्बन गरेर
मुस्कुराएर बिदा भएको टोटलाको फूल
मिर्मिरेमा खसिजान्छ ।

यस्तै हो जिन्दगी भन्छन्
तर त्यो ममा लागू भएन
छोरा, म मर्नुअघि
तिमीलाई अङ्गालो हालेर
बेजोड्ले रोएर म शान्त हुन चाहन्छु ।

नभए म धुवाँ र खरानीमा परिणत हुँदा
मेरो आत्माले तिम्रै खुसीको खातिर चाउरिएको मेरो मुहारलाई
तिमीले धेरै धेरै सम्झेको अनुभूति गर्न पाउँ ।

तिमीले मेरो मृत्युको खबर सुनेर
आईतबारे प्रार्थनामा मलाई सम्झेको
पटक्कै देख्न नपाउँ ।

मेरो आत्मा घुम्दै जाँदा
त्यो मैले धेरै पहिलादेखि स्याहारेको बगैचामा
हरेक तिहारमा सयपत्री, मखमली र कागते फूल
फुलेको देख्न पाउँ ।

दशैंमा दुर्गा माताको आरती
त्यो साँघुरो पूजा कोठामा गुन्जेको सुन्न पाउँ
आँगनमा देउसे भैले आउँदा
मलाई खोल्न नसकेको तिम्री पत्नीको मुट्ठी
खुल्ला फुकेर दान दिएको देख्न पाउँ ।

तिमी र नाता नातिनी सुकिलो लुगामा ठाँटिएर
रमिता हेर्दै गर्दा
म हावासँगै बहेर स्पर्स गर्न पाउँ
तिमीलाई मेरो आशिर्वाद पूरा भएको देख्न पाउँ ।

 

-अजित रूपाबुङ 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment