Advertisement

विप्लवसँग वार्ताकाे तयारीले कतिपयलाई छटपटी भयाे : प्रधानमन्त्री ओली


काठमाडाैं । सरकार आफैँले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वकाे नेकपा माओवादीसँग सरकारले वार्ता गर्ने तयारी गरेकाे छ ।

सरकारले वार्ताकाे तयारी गरेसँगै कतिपयलाई छटपटि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गर्नुभएकाे छ ।

पाचौँ इन्द्रदह पर्यटन महोत्सवमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध वार्ताकाे विषयलाई लिएर कटाक्ष गर्नुभएकाे हाे ।

‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन्,’  नेकपाकाे अध्यक्ष समेत रहनुभएका ओलीले भन्नुभयाे, ‘विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटी भएको छ। लौ हामी तिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर।’

ओलीले प्रचण्ड-माधव पक्षतर्फ संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘यसले राम्रा काम गर्‍यो, जनतामाझ अझ लोकप्रिय हुने भयो, अब बर्बाद हुने भयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएका छन् ।’

फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेकोसमेत उहाँले जानकारी दिनुभयाे ।

विप्लव नेतृत्वको नेकपाले शनिबार एक विज्ञप्ति निकालेर महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको बताएकाे हाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement