कविता : देशभक्तिका पिल्लरहरू

पढ्न लाग्ने समय : मिनेट

ढल्दैछन् सिमानाका पिल्लरहरू,
खुम्चिँदै छ हाम्रो भूमि ।
अस्तित्व मेटिँदैछ
बलभद्र कुवँर, अमर सिंह
जस्ता बाघका डमरूको ।।

आज कालापानी लुट्नेले,
किल्ला गाड्नेछन् भोलि, कोशी कर्णालीमा ।
नेपाली अस्ताउँने छैनन्,
चन्द्र सूर्यको अस्तित्व रहुन्जेल ।
हिटलर पनि डराउने गोर्खालीको
अस्तित्व मेटिँदैन नेपाल आमा रहुन्जेल ।

गुमाउँदैछाैं नेपाल देश,
प्रजातन्त्र आयो भनेर ।
बिर्सिए स्वार्थले लुछाचुँड गर्दै
एकिकृत नेपाल टुक्रायौ आज ।
बिर्सियौ पृथ्वी नारायण, मदन,
पुष्पलालको हिम्मत र आँट ।

हरेक दिन टुक्राटुक्रा बनाउनु,
यो मेरो मुटु ।
दिनु कालापानी, टनकपुर लिम्पियाधुरा
भोलि बेचिदिनु अर्को शहर ।
कुकुरलाई रोटी फ्याँकेको जस्तो गरी
फालिदिनु नेपालका अरु पनि सून्दर शहर ।

लाचार भएर सत्तामा किन बस्छौ
नेताको उपनाम दिन्छौं हामी मूर्ख भई ।
राष्ट्रपति र प्रधानमन्त्री,
सक्दैनौ देश बचाउन भने ।
गद्दी त्यागी आत्मसमर्पण गर,
जनताले थुक्ने काम नगर ।

होइन भने वीरहरूको
आत्मा शान्ति गर ।
टिस्टा, कुमाउ, गढवाल, कालापानी
लिम्पियाधुरा कैलासमार्ग
सगरमाथा र लुम्बिनी पनि
फिर्ता लिएर आऊ हाम्रै हो भनी ।

– अनुपा रिजाल