Advertisement

संसद बन्धक बनाउनु धुन्धुकारी प्रवृत्ति हो: नेता खनाल

संसद नै बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो ।

“संसद जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, राष्ट्रका अत्यन्त महत्वपूर्ण नीति, कार्यक्रम, ऐन, कानुन तथा सङ्कल्पहरू निर्माण गर्ने थलो हो तर यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?”, उहाँले भन्नुभयो, “यो राष्ट्रलाई चल्न नदिने अराजकताको खाडलतर्फ लाने यो एकप्रकारको धुन्धुकारी प्रवृत्ति हो । यो प्रवृत्तिबाट प्रतिपक्षी पार्टी ग्रस्त छ ।”

एमाले संसदको मर्यादालाई समाप्त पार्ने ठाउँमा पुगेको उहाँको भनाई छ । पूर्वप्रधानमन्त्री खनालले एमाले तर्क, शक्ति, बौद्धिकता, मर्यादा र संवैधानिकता सकिएपछि बल प्रयोगमा लागेको बताउनुभयो । “संसद भनेको प्रतिपक्षको पनि हो, प्रतिपक्षले संसदलाई कसरी प्रयोग गर्ने भन्नेबारेमा बुद्धिमत्तापूर्वक प्रयोग गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिपक्षी एमालेले पुनःस्थापित संसद बैठक अवरुद्ध पार्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसदमा नाराबाजी गरी बैठकको कामकारबाही प्रभावित तुल्याउँदै आएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement