Advertisement

नगरसभामा हुलदङ्गा र तोडफोड गर्नेहरूलाई तत्काल कारबाही गर्न प्रशासनसँग माग

तोडफोडमा संलग्नहरूलाई पक्राउ गरी तत्काल कारबाहीको दायरामा ल्याउँन र तोडफोडको क्षतिपूर्ति दिलाउन माग


सन्तोष रुचाल, धनकुटा । पाख्रीबास नगरपालिकाले नगरसभामा हुलदङ्गा र तोडफोड गर्नेहरूलाई तत्काल कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरेर हुलदङ्गा र तोडफोडमा संलग्नहरूलाई पक्राउ गरी तत्काल कारबाहीको दायरामा ल्याउँन र तोडफोडको क्षतिपूर्ति दिलाउन माग गरिएको हो ।

लोकतान्त्रिक भन्ने दलहरूले नै नगरसभामा आक्रमण र तोडफोड गर्नु लोकतन्त्रमाथिको हमला र स्थानीय सरकार माथिको नाङ्गो आक्रमण भएको भन्दै नगरपालिकाले घटनाको घोर निन्दा एवं भत्र्सना गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बृषबहादुर राईले आफूलाई लोकतन्त्रको मसिह ठान्ने दलहरूले नै गुण्डागर्दी शैली प्रदर्शन गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उनले आक्रमणमा संलग्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीलाई लक्षित गर्दै हुलदङ्गा र तोडफोड गर्ने कुन लोकतान्त्रिक चरित्र हो भनी प्रश्न समेत गरे ।

उनले लोकतन्त्र विरोधी नाङ्गो नाच प्रदर्शन गरी तोडफोडमा उत्रिएर सरकारी सम्पत्तिमा क्षति पु¥याउनेहरूलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रशासनसँग माग पनि गरे । ‘लोकतन्त्रको मसिह ठान्ने दलहरूले देखाएको नाङ्गो नाचप्रति हामी घोर निन्दा एवं भत्सना गछौं’–मेयर राईले भन्नुभयो ।

नगरसभामा आक्रमण गरी सरकारी सम्पत्ति तोडफोड गर्नेहरूलाई हामीले कानुनी कारबाहीका लागि प्रकृया अघि बढाउँदैछौं । त्यसको प्रमाण फुटेज सुरक्षित रहेकाले यस्ता व्यक्तिहरूलाई प्रशासनले तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उहाँले माग गर्नुभयो । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्न गत बिहिबार आयोजित नगरको आठौं नगरसभामा काँग्रेसलगायत दलका कार्यकर्ताले हुलदङ्गा र तोडफोड गरेका थिए ।

राजनीतिक पूर्वाग्रह राखी वजेटको सिलिङ्ग तोक्ने क्रममा विभेद गरिएको भन्दै आन्दोलित उनीहरूले नगरसभामा तोडफोड गरेका हुन् । तोडफोडबाट करीब ५ लाख भन्दा बढीको क्षति भएको पाख्रीबास नगरपालिकाले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement