Advertisement

अब अवैध मोबाइल ‘लक’

छ महिनालाई परीक्षण तथा जनचेतनाको अवधि मानिने


काठमाडौं । नेपाल दूरसञ्‍चार प्राधिकरणले नेपालमा भित्रिएका अवैध  मोबाइल ‘लक’ हुने प्रणाली सञ्चालनमा ल्याउने भएको छ । यसअघि नै यस्तो प्रणाली तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ ।

प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिनु भयो ।

मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ) नम्बर दर्ता गराउनुपर्ने र । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

उहाँको अनुसार प्रणालीको कालोसूचीमा नभएको भएमात्र नेटवर्कले काम गर्ने नत्र ब्लक हुने ‘विनियमावलीमा तोकिएको ढाँचामा आयातकर्ताहरूले दर्ता गर्छन् । सोही सूचना भन्सारसँग पनि साझेदारी हुन्छ र त्यसैको आधारमा आएका मोबाइल वैध हुन्छन् । दर्ता नभएका मोबाइल स्वतः कालोसूचीमा पर्छन्

प्रणालीका लागि आवश्यक यन्‍त्र उपकरण सबै आइसकेको र अहिले जडानको काम भइरहेको उहाँले बताउँनु भयो । काठमाडौंको चाबहिलमा रहने यो प्रणाली सञ्‍चालनका लागि अहिले द्रुत गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । व्यक्तिगत रूपमा विदेशबाट मोबाइल ल्याउनेहरूले पनि दर्ता गर्नुपर्ने छ । व्यक्तिगत रूपमा ल्याएकाहरूले निर्धारित ढाँचामा आफ्नो व्यक्तिगत विवरण दिएर डिभाइस दर्ता गर्नुपर्ने छ ।

कुनै पनि एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने छ । तर कति संख्या भन्‍ने अहिले निर्धारण भएको छैन । प्रणाली सञ्‍चालनमा आउने बेलासम्म प्राधिकरणले यसमा थप निर्णय गर्ने अर्यालले बताउनु भयो ।
यो प्रणाली सञ्चालनमा आएको पहिलो छ महिनालाई परीक्षण तथा जनचेतनाको अवधि मानिने छ । छ महिनापछि मात्र बाध्यकारी हुने छ ।

प्रणाली सञ्चालनमा आउनुभन्दा पहिले नै नेपाल भित्रिएर सञ्‍चालनमा रहेका डिभाइसलाई अनिवार्य दर्ता प्रक्रिया लागू गर्ने वा नगर्ने भन्ने विषयमा अहिले ठोस निर्णय भएको छैन । विश्वव्यापी प्रणालीमा पनि नपाइएका कुनै पनि डिभाइस लक हुनसक्ने पनि उहाँले जानकारी दिनु भयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement