दूतावासकाे लापर्वाहीले इजरायल र साइप्रसमा सयाैँ नेपाली अलपत्र

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । नेपाल फर्किने अन्तिम तयारीमा रहेका इजरायल र साइप्रसका गरी झण्डै ५ सय नेपालीहरू पूर्व निर्धारित उडान रद्ध भएका कारण अन्याेलमा परेका छन् ।

मंगलबार इजरायल र साइप्रसका लागि नेपाली राजदूतावासले अत्यन्तै जरुरी सूचना भन्दै उडान रद्ध भएकाे जानकारी गराएसँगै स्वदेश फर्किने तयारीमा रहेका नेपालीहरू अन्याेलमा परेका हुन् ।

नेपाल सरकारले काेराेना महामारीका कारण विदेशमा राेजगार गुमेका, समस्यामा परेका र नेपाल फर्कन चाहने नेपालीकाे उद्धार गरिरहेका बेला इजरायल र साइप्रसका ४ सय ९८ जना नेपालीले स्वदेश फर्किन नेपाली राजदूतावास, तेल अभिभमार्फत फाराम भरेका थिए ।

दूतावासद्वारा मंगलबार जारी सूचनामा भनिएकाे छ, ‘दूतावासका यसअघिका सूचनाहरूद्वारा साईप्रस र ईजरायलबाट नेपालीहरूलाई स्वदेश फर्काउने उद्देश्यले २९ र ३० जूनका लागि तय भएका दुवै उडानहरू रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं। उडानको ७ दिनअघि अर्थात् २४ जून २०२० देखि कोरोना परिक्षण (RDT & PCR) गर्न भनिएकोमा हालका लागि उक्त परीक्षणहरू नगर्न हार्दिक अनुरोध गर्दछौं। यसबाट पर्न गएको असुविधाप्रति दूतावास क्षमाप्रार्थी छ। यहाँहरूका समस्याबारे दूतावास अत्यन्त सम्वेदनशील छ।’

दूतावासले तत्काल अन्य एअरलाइन्ससँग छलफल सुरू भइसकेको समेत जानकारी गराएकाे छ । दूतावासले भनेकाे छ, ‘उडानको मिति र समयतालिका निश्चित भएपछि यथाशीघ्र प्रकाशन गर्नेछौं।’

पटक-पटक उडान रद्ध

उडान तालिका रद्ध भएकाे याे पहिलाे पटक भने हाेइन । यसअघि, जून २० र जून २५ का लागि उडान तय भएकाे भन्दै दूतावासले सूचना जारी गरेकाे थियाे । दूतावासले तयारी नपुगेकाे र नेपालीहरूबाट नै उडानकाे समय तालिका थप गर्नुपर्ने अनुरोध आएकाे भन्दै जून २९ र जून ३० का लागि अर्काे उडान तालिका सार्वजिनक गरेकाे थियाे । इजरायल र साईप्रसका लागि संयुक्त उडान जून २९ मा हुने भनिएकाे थियाे ।

नेपाल एअरलाइन्सको पहिलाे उडानमार्फत् इजरायलबाट ६७ जना र साइप्रसबाट १ सय९३ जना गरी २ सय ६० जना नेपालीहरू फर्कने बताइएकाे थियाे । उक्त उडान इजरायलबाट साईप्रस हुँदै साईप्रसबाट नेपाल जाने भनिएकाे थियाे ।

नेपाल एअरलाइन्सकै दोश्रो उडान जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुने तालिका थियाे । उक्त उडानमार्फत् साइप्रसबाट २ सय ३९ जना नेपालीहरू स्वदेश फर्कन तयारी अवस्थामा थिए ।

टिकट बुकिङकाे जिम्मा नेपालस्थित सुरूची ट्राभल्स एण्ड टुर्सले पाएकाे थियाे ।
तर नेपाल एअरलाइन्स लगायत नेपालका कुनै पनि एअरलाइन्सहरूले युरोपको आकाशमा उडानको अनुमति नपाएकाे भन्दै अन्तिम समयमा उडान रद्ध गर्नुपरेकाे दूतावासले जनाएकाे छ ।

कमजाेरी कसकाे ? दूतावास कि एअरलाइन्सकाे ?

दूतावासले आफ्नाे कुटनीतिक प्रयास सफल हुन नसकेकाे स्वीकारेकाे छ ।

‘नेपालका सबै एअरलाइन्सहरुलाई युरोपको आकाशमा उडानको अनुमति छैन। तर जुन ३० मा हुने भनिएका उडानहरू व्यवसायिक नभएका र उद्धारका लागि आउन लागेकाले मानवीय हिसाबले उडान अनुमति दिन नेपाल एअरलाइन्सले अनुरोध गरेकोमा साइप्रस सरकारले दिन नमिल्ने बताएको हाे।’ दूतावासका एक अधिकारीले नयाँ सञ्चारसँग भन्नभयाे, ‘दूतावास तथा नेपाल एअरलाइन्सको निकै प्रयास तथा कुटनीतिक पहलका बावजूद साइप्रस सरकारले आफूले चाहँदा चाहँदै पनि युरोपेली संघको नियमका कारण उडान अनुमति दिन नसकेको जानकारी गराएको छ।’

विदेशमा राेजगार गुमेका, समस्यामा परेका र नेपाल फर्कन चाहने नेपालीकाे उद्धार गर्न लागिपरेकाे दूतावासलाई अन्तर्राष्ट्रिय उडानबारे सामान्य जानकारी समेत नराख्दा समस्या उत्पन्न भएकाे अन्तर्राष्ट्रिय उडान सम्बन्धी एक जानकारकाे भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘दूतावासले युरोपेली संघ (इयू)को नियमका कारण नेपाल एअरलाइन्सले उडान अनुमति पाउन नसकेको स्पष्टिकरण दिइरहँदा इयूले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउँदै आएको कुरामा ध्यान नै नदिएकाे पाइएकाे छ ।’
कुटनीतिक प्रयासलाई जारी राख्नु सकारात्मक पक्ष भए पनि काेराेना महामारीबाट अन्तर्राष्ट्रिय समुदाय नै आक्रान्त भइरहेकाे अवस्थामा नेपाली एयरलाइन्सहरूलाई जबरजस्त उडान अनुमति दिलाउन पहल थाल्नु अपरिपक्व पहल मानिएकाे छ ।

सन् २०१३ देखि नै नेपाली हवाई जहाजलाई युरोप प्रवेशमा प्रतिबन्ध, दूतावास कुटनीतिक कसरतमै

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६औँ सम्मेलनमा युरोपेली सङ्घ (इयू) ले युरोपका आकाशमा नेपाली जहाजलाई लगाएकाे उडान प्रतिबन्धबाट हटाउनेबारे दुईपक्षीय छलफल भएपनि अझै सफल हुन सकेकाे छैन ।

इयूले उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै सन् २०१३ देखि नेपाली हवाई जहाजलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ । कालो सूचीबाट नेपाललाई हटाउने सन्दर्भमा इयू र नेपाली उड्डयन अधिकारीबीच गत जनवरी १९ मा दुईपक्षीय वार्ता समेत भएको थियो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।

सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धी आदेश– २०७७’ जारी गरेकाे छ र उक्त कार्यदेशले पनि निश्चित एअरलाइन्सबाट मात्र उडान भर्ने वा नेपालीहरूलाई स्वदेश ल्याउने भनिएकाे छैन ।

याे अवस्थामा सुरूमै अन्य एअरलाइन्ससँग समन्वय गरेर उडान तालिका घाेषणा गर्नुकाे सट्टा नेपाली एअरलाइनसकाे लागि उडान अनुमति दिलाउन कुटनीतिक कसरत गर्नु दूतावासकाे कमजाेरी देखिएकाे छ ।

सामाजिक सञ्जालमा सरकार र दूतावासलाई प्रश्नै प्रश्न, भन्छन् हामीमाथि मजाक गरियाे

उडान रद्द भएसँगै स्वदेश फर्किने तयारीमा रहेका नेपालीहरू भने सरकार र दूतावाससँग रुष्ट बनेका छन् ।

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीले दूतावासकाे उडान रद्ध भएकाे सूचना पाएपछि निराश हुँलै भन्नुभयाे, ‘यो सार्है अति भयाे, जरुरी सूचना निकालेर क्षमाप्रार्थी भन्याे आनन्दले बस्याे पीडामा रहेकाहरूकाे ठाउँमा बसेर हेर्नुस् त हजुर हाे ।३/३ पटक सूचना जारी गरेर टिकट लिन लाएर अब त जाने भइयो भनेर लामाे सास फेरेर बसेकाे बेलामा उडान रद्द गराइँदा कस्तो भ’काे हाेला ? सरकारकाे के कुरा गरि सक्नुछ र ? दूतावासकाे आश गरेकाे तै पनि निरास बनायो । दूतावासले ओमनकाे पाठ सिकेर धन्यवादकाे पात्र बन्नेकि !!!’

यस्तै अर्का एक नेपालीले भन्नुभयाे, ‘पहिले नै थाहा भएर पनि नभनेकोले गर्दा कति दुःख पाइयो भने। भएको पैसा पठाइयो अहिले ट्राभलले पैसा पनि फिर्ता गर्दैन कति दुःख दिन सकेको नेपाल राजदूतावासले ???’

नेपाल फर्किन पाइने भयाे भनेर ढुक्क भएका नेपालीहरू सरकारकाे रबैयाका कारण समस्यामाथि झन् समस्यामा परेकाे बताउँछन् ।

सपिङ समेत सकेर नेपाल फर्कने दिन गनदै बसेका एक नेपाल भन्छन्, ‘सपिङ समेत गरेर ४/५ दिन ड्यूटी पनि गयाे, दुःखमा परेकाेलाई नेपाल सरकारले सहयाेग गर्छ रे, के यही हाे सबै कुरामा पैसालाई नै महत्व दिएर हुन्छ भने याे दुनियाँबाट मानवता नै खतम हुन्छ, यस्ताे सरकारलाई के भन्ने हाेला ?’

यस्तै एक महिलाले सामाजिक सञ्जालमा गुनासाे गर्नुहुन्छ, ‘यो अतिनै मजाक बनाउनु भो, हामिले पटक पटक सम्पर्क गरी टिकट लिएर पैसा समेत भुक्तान गरिसकियाे । अनि एयरपोर्टको रकमको लागि एजेन्सीमा पनि आबेदन दिई सक्यो। जुन लिएको टिकट बुझाई सक्यो । यदि नसक्ने र नगर्ने भय हुँदैन भन्नोस् हामी ढुक्क साथ आफ्नो जटिल समयलाई पार गर्ने छौँ । नेपाल सरकार र नेपाल सरकारका कर्मचारी हरुले कुनै पनि काम जिम्मेवार पूर्ण गर्न सक्दैन भने सक्दैन भनोस् कोही आशावादी हुने छैन नेपाल सरकार प्रति।’

तोकिएको दिनमा जान नपाउँदा निराश हुनु स्वभाविकै हो : दूतावास

दूतावासले नेपाल फर्किन तयार अवस्थामा रहनुभएका नेपालीहरू तोकिएको दिनमा जान नपाउँदा निराश हुनु स्वभाविक रहेकाे प्रतिक्रिया दिएकाे छ ।

सामाजिक सञ्जालमा दूतावासकाे सूचनालाई लिएर व्यापक विराेध भइरहेकाे छ नि भन्ने जिज्ञासामा दूतावासले अन्य केही विदेशी एयरलाइन्ससँग कुराकानी अगाडि बढिसकेको र छिट्टै नै दूतावासले सूचना सार्वजनिक गर्ने प्रतिवद्धता जनाएकाे छ ।

नयाँ सञ्चारसँगकाे संवादमा दूतावासले भनेकाे छ, “विरोध एक हदसम्म स्वभाविकै छ। यहाँका नेपालीहररूले हामीले भनेअनुसार तयारी गर्नुभयो, तोकिएको दिनमा जान नपाउँदा निराश हुनु स्वभाविक नै हो। यसको जिम्मेवारी हामीले लिनैपर्छ, जसबाट हामी पन्छिदैनाैँ । नेपाली दूतावास अल्मलिएको छैन, नेपालका एअरलाइन्सहरू युरोपमा उडान भर्न पाउँदैनन् भन्ने हामीलाई जानकारी नहुने कुरै भएन।”

दूतावासकाे स्पष्टाेक्ति जस्ताकाे त्यस्तै

“सुरूमा इजरायल र साइप्रसका लागि हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सका १/१ उडान हुने निर्णय सरकारले गरेपश्चात हामीले यसबारे सुरूमै कुरा राखेपछि हिमालयन एअरलाइन्स आफू उडान भर्न नसक्ने भनी पछि हट्यो र दुवै उडान नेपाल एअरलाइन्सले गर्ने भयो।

नेपाल एअरलाइन्सलाई पनि यसबारे जानकारी गराउँदा यो सामान्य कुरा हो, अनुमति आइहाल्छ भनिसकेपछि हामीले पनि प्रक्रिया सुरू गर्यौं।

प्रकृया सुरू भए पश्चात पनि अन्य केही देशमा जस्तै अन्तिम चरणमा पुगेपछि उडान रद्द नहोस् भनी हामीले सुरूमै उडानलाई २० र २५ जूनबाट ३० जूनमा सारेर उडान अनुमतिको प्रकृया अगाडि बढायाैँ।

जून ३० मा हुने भनिएका उडानहरू व्यवसायिक नभएका र उद्धारका लागि आउन लागेकाले मानवीय हिसाबले उडान अनुमति दिन नेपाल एअरलाइन्सले अनुरोध गर्यो।

दूतावास तथा एअरलाइन्सले निकै कुटनीतिक पहलका बावजूद साइप्रस सरकारले आफूले चाहँदा चाहँदै पनि युरोपेली संघको नियमका कारण उडान अनुमति दिन नसकेको जानकारी गरायो। दूतावासको तदारुकताले गर्दा एक हप्ता अगाडि नै अन्तिम सूचना जारी गर्न सकियो र कोरोना परिक्षणबापत पैसा खर्च गर्नबाट रोक्न सकियो।

उडान अनुमति नआउने जस्तो देखिएपछि नयाँ टिकट बुक गर्न पनि रोक लगाइयो। निकै प्रयास गर्दा पनि दूतावासले मिति सर्नबाट रोक्न भने सकेन।

तर नेपाली एअरलाइन्सहरू नआउने भएपछि अन्य केही विदेशी एअरलाइन्ससँग कुराकानी अगाडि बढिसकेको छ। छिट्टै नै यसको बारेमा दूतावासले सूचना सार्वजनिक गर्नेछ।”