Advertisiment

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटीको बैठक जारी छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बसेको हो ।

स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि फुटकाे संघारमा पुगेकाे नेकपामा कार्य दल गठनपछि सहमतिकाे वातावरण बनेकाे बताइएकाे छ ।

कार्य दलले तयार पारेको प्रतिवेदनमा छलफल गर्न बैठक बोलाइएको कार्यदलका संयोजक महासचिव विष्णु पौडेलले जानकारी दिनुभयाे ।

नेकपामा गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो ।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

बैठकको छलफलका विषयहरुमा दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका प्रस्ताव तयार गरिएको छ।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।

यसैगरी मन्त्रिमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ।

साथै कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment