Advertisement

एनआरएन अमेरिकाको महासचिवमा सुवेदी दावेदार


काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन् ।

यसैबीच एनआरएन अमेरिकाको एनसीसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आउनुभएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बनाउनुभएकाे छ ।

तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचारमा अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदीले आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउनुभएकाे छ ।

“मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपालीहरुलाई साझा हितका लागि गोलबन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो । यो एजेण्डा सबैको साझा भएकोले सबैले सहयोग गर्नेमा विश्वस्त छु”, सुवेदीले भन्नुभयाे ।

उहाँले अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयाे ।

एनआरएनमा राजनीतिक आस्थाका आधारमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै सुवेदीले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आतुर रहेको बताउनुभभयाे ।

अमेरिका पुग्ने नेपालीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरिकाका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने बताउनुभयाे ।

आफू महासचिव भएपछि हरेक महिनाको पहिलो शनिबार संस्थाका कामकारवाहीबारे सार्वजनिक सुनुवाई गर्ने सुवेदीको योजना छ ।

“महासचिव भएपछि २ वर्षे कार्यकालको पूर्ण कार्यतालिका पहिले नै सार्वजनिक गरेर काम गर्छु । एनआरएन अमेरिकालाइृ प्रभावकारी बनाउन सबै नेपाली दाजुभाईको सल्लाह सुझाव समेटेर अगाडि बढ्छु”, सुवेदी भन्नुहुन्छ ।

अमेरिकामा रहेरपनि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आउनुभएका सुवेदीले दोलखाको भीमेश्वरमा संग्रहालय निर्माणमा विशेष सहयोग गर्नुभएकाे छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुवेदीले आर्थिक तथा सामाजिक सहयोग गर्दै आउनुभएकाे छ ।

एनआरएन अमेरिकाको महासचिव बनेमा अमेरिकामा रहेका नेपालीहरुलाई मातृभूमिमा सामाजिक कार्य गर्न संस्थागत रुपमै प्रोत्साहन गर्ने सुवेदीको योजना छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement