शुक्रबारसम्म पर्छ पानी !

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैं । नेपालमा मनसुनी गतिविधि अझै केही दिन सक्रिय रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ ।

मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडाैँ उपत्यकामा ८.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।