मन्त्री लम्सालद्वारा क्वारेन्टिन तथा आइसोलेशन कक्षको निरीक्षण

पढ्न लाग्ने समय : मिनेट

गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले आज म्याग्दीको सदरमुकाम बेनीमा रहेका क्वारेन्टिन र आइसोलेशन कक्षको निरीक्षण गर्नुभएको छ ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्न बेनी आउनुभएका मन्त्री लम्सालले न्यू वेष्ट प्वाइट आवासीय माविमा रहेको क्वारेन्टिन र खुलामञ्चस्थित शैक्षिक तालीम केन्द्रमा रहेको आइसोलेशन कक्षको निरीक्षण गर्नुभएको हो ।

निरीक्षण पछि जिल्ला समन्वय समितिको हलमा आयोजित छलफल कार्यक्रममा मन्त्री लम्सालले कोरोना सङ्क्रमणबाट जोगिन म्याग्दीले गरेको क्वारेन्टिन तथा आइसोलेशन कक्षको व्यवस्थापन अरू जिल्लाका लागि पनि अनुकरणीय रहेको बताउँदै आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उहाँले धौलागिरी क्षेत्रका कुनै एउटा अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने र यस क्षेत्रका स्वाब यही परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी पनि दिनुभयो ।