Advertisement

‘मायाले नै हाे पियारा’ (भिडियाे)

फिमेल भर्सनमा स्वरमात्रै होइन गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ


काठमाडौं । देउडा शैलीको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ । गायन प्रतियाेगिता ‘भ्वाईस अफ नेपाल सिजन–३’ मा बाजुराका धर्मेन्द्र सुनारले गायक जोसेफ शाही ठकुरीकाे ‘पियारी’ गीत गाएसँगै यसले सर्वाधिक चर्चा पाएकाे छ ।

पछिल्लो समय विशेषगरी टिकटकदेखि सामाजिक सञ्जाल र युट्युवमा ‘पियारी’ लाई निकै रुचाइएकाे छ । लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहिबार अपरान्ह गीतको भिडियो सार्वजनिक गरिएको हो ।

फिमेल भर्सनमा विशाखा शाही ठकुरीको स्वर रहेकाे छ । यसअघि गायक जोसेफकाे स्वरमा रहेको उक्त गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’लाई परदेशमा दुःख गरिरहेको श्रीमानले सम्झाइरहेको भाव भेटिन्थ्यो । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफु कस्तो अवस्थामा जिवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव छ ।

जोसेफ शाहीको शब्दमा कोशिश क्षेत्रिको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् ।

फिमेल भर्सनमा स्वरमात्रै होइन गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ । भिडियोमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेन्चुरीको समेत अभिनय रहेको छ । राज पोखरेलको छायाँकन रहेको भिडियोको सम्पादन र निर्देशन समेत टेकेन्द्र शाहले गरेका हुन् ।

याे समाचार तयार पार्दासम्म युट्युवमा ६३ हजार बढीले उक्त भिडियो हेरिसकेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement