Advertisement

माओवादीका सबै कमिटी उत्पादनको एकाई बन्नुपर्छ: अर्थमन्त्री शर्मा

समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने


कर्णाली प्रदेश । नेकपा (माओवादी केन्द्र)का सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीका सबै कमिटी उत्पादनको एकाई बन्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री शर्माले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाइने बताउनुभयो । माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरू जुर्मराएको उहाँले टिप्पणी गर्नुभयो ।

अर्थमन्त्री शर्माले सम्मेलन समीक्षाको उत्सव भएको तर्क गर्दै कर्णालीका जनताको आन्दोलन युद्धका सेनाभन्दा पनि माथि रहेको भनी प्रशंसा गर्नुभयो । “पछिल्लो समयमा हामी विचार छाडेर झोक्रायौँ ।

सङ्गठनमा विधि र पद्धति पनि भएन”, उहाँले भन्नुभयो, “अब नयाँ विचारको सुरुआत हुनेछ । जसले विधि, कार्यशैली र कार्यदिशा के हो ? निश्चित गरेर मार्गचित्र कोर्दै कर्णालीको आत्मनिर्भर पृष्ठभूमिलाई जोगाउनेछ ।”

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्जार्च शक्तिबहादुर बस्नेतले आजको व्यवस्थाको इञ्जीनियरिङ माओवादीले गरेको दाबी गर्दै यसको पाइलटिङ पनि माओवादीले नै गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी हार्दा जनताले हार्ने भन्दै उहाँले हार्ने सुविधा नभएको समेत जिकिर गर्नुभयो ।

प्रदेश सम्मेलनमा केन्द्रका कर्णाली प्रदेश सहइन्चार्जत्रय कालीबहादुर मल्ल, महेन्द्रबहादुर शाही र टेकबहादुर बस्नेत, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्य, जिल्ला नेता, प्रतिनिधि तथा पर्यवेक्षकसहित करिब एक हजार २०० को सहभागिता रहेको छ । उद्घाटनसत्र सम्पन्न भएको तर बन्दसत्र भोलि सुरु हुने प्रदेश सचिव आचार्यले बताउनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement