Advertisement

मुख्यमन्त्रीमा पोखरेलको पुन:नियुक्ति विरुद्ध देउवा र प्रचण्डकाे एकै स्वर : असंवैधानिक निर्णय सच्याउ

कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्ति गराई संविधानको मर्यादा कायम गर्न गम्भीर ध्यानाकर्षण


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुन:नियुक्तिलाई घोर अलोकतान्त्रिक प्रवृत्तिकाे संज्ञा दिनुभएकाे छ ।

आइतबार विज्ञप्ति निकाल्दै सभापति देउवाले भन्नुभयाे, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु ।’

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नहुने देउवाकाे भनाइ छ ।

देउवाले नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले बहुमत सांसदको हस्ताक्षरसहित वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु संसदीय मूल्यमान्यता विपरीतको व्यवहार भन्नुभएकाे छ ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन: नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भएकाे भन्दै विराेध जनाउनुभएकाे छ ।

प्रचण्डले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको पनि उल्लेख गर्नुभएकाे छ ।

‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ’, प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल, राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतका समेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको भन्दै प्रचण्डले पोखरेललाई ३७ जनाको मात्र समर्थन रहेको उल्लेख गर्नुभएकाे छ । उहाँले प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन पनि आग्रह गर्नुभएकाे छ ।

‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्याई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र शपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न लुम्विनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण गर्दछौं’ प्रचण्डले भन्नुभयाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement