Advertisement

मेयरहरूले भने जस्तै छठपछि उपत्यकामा ‘कडा लक डाउन’ होला त?


काठमाडौं । काठमाडौं उपत्यकामा तिहार र छठपछि कडा निषेधाज्ञा गर्न गत कात्तिक २६ गतेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई उपत्यका मेयर फोरमले आग्रह गर्‍याे ।

नेपालीहरूकाे दाेश्राे ठुलाे चाड तिहार सकिएकाे छ भने मंसिर ५ गते छठ पर्व पनि सम्पन्न हुन्छ ।

त्यसाे त कात्तिक २६ गतेकाे छलफलकाे विषयलाई  लिएर चाडपर्व सकिएसँगै काठमाडाैं उपत्यकामा लड डाउन हुने चर्चा चलिरहेकाे छ  ।

के थियाे कात्तिक २६ काे छलफल ?

गत कात्तिक २६ गतेकाे कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) छलफलमा काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दरलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको बताइएको छ।

छलफलमा उपत्यकाका मेयरहरूले छठ सकिएलगत्तै उपत्यकामा कम्तिमा १५ दिन कडा लक डाउन गरेर कोरोना संक्रमणको नियन्त्रणकाे अवस्था हेर्नुपर्ने सुझाव दिएका थिए ।

उपत्यकामा संक्रमण बढिरहेको अवस्थामा कम्तिमा १५ दिन कडा लकडाउन गर्न मेयरहरुले सुझाव दिएकाे बताइएकाे छ ।

छलफलमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाली सेनाका प्रतिनिधि उपस्थित थिए ।

गृहमन्त्री रामबहादुर थापा लक डाउन गर्नेबारे केही सकारात्मक छलफल देखिएपनि सरकार पर्ख र हेरकाे स्थितिमा रहेकाे भन्दै याेजना बनाएर अघि बढ्नुपर्नेबारे छलफल भएकाे बताइएकाे थियाे ।

तिहार र छठपछि १५ दिन कडा लकडाउन गर्न मेयरहरुकाे आग्रह

साथै, कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव बनाउने भनिएकाे थियाे । तर नयाँ याेजना सार्वजनिक भइसकेकाे छैन ।

यता, लक डाउन हुँदा मानिसहरूको दैनिक जनजीवन निकै प्रभावित हुने र आर्थिक क्रियाकलापमा क्षति पुग्ने भन्दै महामारी नियन्त्रणका अन्य विकल्पसहित अघि बढ्नुपर्ने चर्चा पनि चलिरहेकाे छ ।

अहिले देशभरको कोरोना संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन्। अबको केही समयमा नै उपत्यकाका अस्पतालहरूले थेग्न नसक्ने गरी संक्रमित बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकलन छ ।

त्यसैले उपत्यका मेयर फोरमकाे सुझाव अनुसार लक डाउनकाे माेडालिटीबारे गृहकार्य भइरहेकाे बुझिएकाे छ ।

स्वास्थ्य विज्ञहरूले भने काेराेना परीक्षणको दायरा बढाउनुपर्ने र संक्रमण फैलन नदिन सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विज्ञका अनुसार कडा लक डाउन गरेर मात्र महामारी नियन्त्रणमा लिन सकिने बताए।

यता, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अहिलेसम्मको अवस्था हेर्दा लकडाउन नै गर्नुपर्छ भन्ने नरहेको बताउनुभयाे । स्वास्थ्य मन्त्रालयले यसअघि नै दुई साता देशभर लक डाउन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर, अहिलेको अवस्थामा सबै स्वास्थ्य संरचनाले थेग्न सक्ने देखिएको उहाँको भनाइ छ।

“तत्काल लकडाउनबारे सोचेका छैनौं। केही भएन भने लक डाउनमा पनि जान सकिन्छ। केही सीप चलेन भने लकडाउन त गर्नैपर्छ,” प्रवक्ता गौतमले भन्नुभयाे।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement