Advertisiment

लिदी पहिरोः बेपत्तामध्ये ११ को शव फेला


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ । पहिराले २७ घर पुरेको थियो ।

घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ ।

गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिनुभयो । राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिई फर्कनुभएको थियो ।

लिदिमा राहत

३८ जनालाई पुर्ने गरी पहिरो आएको जुगल गाउँपालिका –२ लिदीमा राहत पु¥याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालका लागि लिदिवासीमाझ राहत सामग्री पु¥याएको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिले लिदीका पहिरोपिडितलाई विभिन्न राहत सामग्री प्रदान गरेको छ । ती सामग्रीमा नीलो चिनियाँ पाल ४० थान, भाँडावर्तन, मिनी ब्ल्यांकेट, पहेँलो त्रिपाल, म्याट्रेस, बाल्टिन ढकन सहित ४० थान, प्लाष्टिक जग ४० थान, ग्यालिन ६० थान र पञ्जा ४० थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment