काठमाडौं महानगरले १६ अर्ब ४२ कराेडको बजेट ल्यायाे

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ।

सातौं अधिवेशनमार्फत महानगरले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १६ अर्ब ४७ करोड रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको हो।

जसअनुसार महानगरले कुल ६ अर्ब ७६ करोड रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य लिएको छ। त्यस्तै नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त अनुदानवापत १ अर्ब ४२ करोड, सशर्त अनुदानवापत २ अर्ब ५७ करोड उपलव्ध हुने महानगरको अनुमान छ। त्यस्तै बैंक मौज्दात ३ अर्ब ५० करोड रहेको महानगरले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता बापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कुल ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने महानगरकाे प्रक्षेपण छ ।

महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यवस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटकाे प्राथमिकतामा राखिएको छ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट बिनियोजन गरेको छ । महानगरले यस पटक गोष्ठी, तालिममा बजेट कटौती गरेकाे छ।

बजेट प्रस्तुत गर्दै महानगरकी उपमेयर हरिप्रभा खड्काले महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता पारित नीति तथा कार्यक्रमको लक्ष्य हासिल हुने बताउनुभयाे ।