Advertisement

ह्वाइट हाउस प्रवेशकाे तयारीमा बाइडेन


एजेन्सी । इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन् ।

सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ ।

जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको हो ।

गत नोभेम्बर ३ मा सम्पन्न अत्यन्तै विवादास्पद निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३०६ र उनका रिपब्लिकन प्रतिष्पर्धी एवं वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मत दिने गर्दछन् ।

कुनै प्रमाण बिनै लगातार चुनावमा धाँधली भएको आरोप लगाइरहेका ट्रम्पले सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्वीकारेका छैनन् । उनले इलेक्टोरल कलेजले दिने मतबाट आफू विजयी हुने दाबीसमेत गर्दै आएका थिए ।

अदालतलाई प्रयोग गरेर केही राज्यहरुको चुनावी परिणाम उल्ट्याउने ट्रम्पको प्रयास पनि सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएसँगै असफल भएको छ छ ।

आउँदो २० जनवरी २०२१ को दिन आयोजना गरिने भव्य समारोहसँगै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement