Advertisement

विपन्नको घरमा खर हटाएर टिनको छाना राख्न सुरू

सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम


कञ्चनपुर । पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरू भएको छ । सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिकाभित्र रहेका विपन्न अवस्थाका १६८ परिवारको घरमा टिनको छाना राख्नका लागि छनोटको कार्य भइसकेको नगरप्रमुख जीवनराज थापाले बताउनुभयो । “छनोटमा परेका प्रतिपरिवारलाई रु ५० हजारका दरले अनुदान रकम दिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पहिलो किस्ताका रूपमा ६० प्रतिशत रकम बैंक खातामार्फत उपलब्ध गराउँछौं । दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम प्राविधिकको मूल्याङकन गरेपछि उपलव्ध हुन्छ ।”

कार्यक्रम सञ्चालनका लागि अनुदान पाउने किसानसँग सम्झौताको कार्य गरिएको छ । अनुदान रकमका लागि घर पूरै खरको प्रयोग गरी बनाइएको छ भने त्यस्तो घरलाई पहिलो, छानामा खर र पर्खाल काठको बनाइएको छ भने दोस्रो र छानामा टायललगायतको प्रयोग गरिएको छ भने तेस्रो प्राथमिकतामा राखेर छनोट गरिएको छ ।

“छनोटका मापदण्डअनुसार घरको प्राविधिक टोलीले मूल्याङ्कन गरी ५० बढी अङ्क ल्याएको हुुनुपर्दछ”, नगर प्रमुख थापाले भन्नुभयो,“५० बढी अङ्क ल्याउने घर अनुदान रकमका लागि योग्य मानिन्छन् । निर्धारित मापदण्डअनुसार विपन्न परिवारको घरकोस्तर हेरी छनोट गरेका छौं ।”

खरको छाना हटाएर टिनको छाना राख्नका लागि छनोटमा परेकासँग सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामार्फत उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । नगरमा बसोबास गर्ने बासिन्दाले झुपडीमा बस्नु नपरोस् भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

“असुरक्षित घरमा बस्दा आगलागी भई क्षति व्यहोर्नु पर्ने र सर्प लगायतका विषालु कीराको टोकाइ बासिन्दा प्रभावित नहुन भन्नकै लागि खरको छाना हटाउने अभियान सञ्चान गरेका छौं । नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने जनप्रतिनिधिको कर्तव्यअनुसार कार्य भइरहेको छ” उहाँले भन्नुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement