Advertisement

सेतिदिवी कृषि तथा जडिबुटी खेती समितिकाे उद्देश्य : ‘एक घर एक जडिबुटी’

जडिबुटीको महत्व, घरेलु प्रयोग र प्रयाेग विधिबारे जनस्तरमा बुझाउन कार्यक्रमकाे आयाेजना


काठमाडाैं । काठमाडाैंकाे दक्षिणकाली नगरपालिकामा जडिबुटी खेती तथा बेर्ना उत्पादन कार्यक्रम सम्पन्न भएकाे छ ।

‘एक घर एक जडिबुटी’को अवधारणा सहित सेतिदिवी कृषि तथा जडिबुटी खेती समितिले जडिबुटीको महत्व, घरेलु प्रयोग र प्रयाेग विधिबारे जनस्तरमा बुझाउन कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यक्रममा जडिबुटी खेतीबाट कसरी फाइदा लिने र आत्मनिर्भर कसरी बन्न सकिन्छ र स्थानीय तहभित्र पाइने जडिबुटी बारे कार्यक्रम संयोजक अनिल सिंह बस्न्यातले जानकारी गराउनुभयाे ।

कार्यक्रममा अकुपन्चरिष्ट तथा तितेपाती व्यवसायी ईश्वरराज बलामीले तितेपातीको महत्व र साे प्रयोग के कसरी भइरहेको छ भन्ने बारे प्रष्ट पार्नुभयाे ।

उहाँले व्यावसायिक खेती गर्न जनस्तरमा आव्हान गर्दे उत्पादित तितेपातीको बजार व्यवस्थापनमा आफैं लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै फर्पिङ्ग आयुर्वेद औषधालयका प्रमुख डा. चन्द्रनारायण झाले अब स्थानीय स्तरमै समूह बनाई सहकारी संस्थाहरुसँग समन्वय गरि जडिबुटीको संरक्षण र प्रवर्द्धनमा अघि बढ्नुपर्ने बताउनुभयाे ।

‘विभिन्न ठाउँमा जडिबुटी खेतीको बारेमा विगतमा जनस्तरमा जनचेतना फैलाई जडिबुटी कृषक निकाले पनि सिमित व्यक्तिको नियन्त्रणमा बजार रहेको छ’, उहाँले भन्नुभयाे, ‘अब कृषक मात्र नभइ माफियाहरुलाई हटाई अघि बढ्नुपर्छ।’

औषधालयका प्रमुख झाले आगामी बर्ष जमिन अनुसार कस्ता जडिबुटी उत्पादन हुन्छ भन्ने खोज गरि प्रत्येक घरमा जडिबुटी लगाउन उत्प्रेरित गर्नुपर्ने बताउनुभयाे ।

जडिबुटी खेती र उत्पादनमा सहकार्य गर्न सहकारी तयार रहेकाे श्री कृष्ण सहकारीका विप्लव श्रेष्ठले जानकारि दिनुभयो ।

जग्गा नभए कौशीमै जडिबुटी खेती

आफ्नै जग्गा नहुनेहरुले भने आफ्नै घरको कौशीमा पनि सुरक्षित तरिकाले खेती गर्न सकिनेबारे प्रारम्भ वायोटेक प्रा. लि. का प्रमुख अशोक कुमार भट्टराईले सहभागीहरुलाई सहजिकरण गर्नुभयाे ।

दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधि कर्ण श्रेष्ठले कार्यक्रमबाट पाएको ज्ञान र सीपको प्रयोग गरि व्यवसायीक जडिबुटी खेतीमा लाग्न आव्हान गर्नुभयाे ।

उहाँले जडिबुटीको संरक्षण र प्रवर्द्धन गर्न वडा कार्यालय र नगरपालिका सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

युवा तथा वेराेजगारलाई नयाँ आम्दानीकाे श्राेत हुन सक्ने हुँदा जडीबुटी खेताीकाे सम्भावना रहेकाे र यस बिषयमा गम्भिर भएर लाग्ने समितिका अध्यक्ष पुजन शिंह बस्न्यातकाे भनाइ छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement