के छोरा मान्छे रुनु हुन्न र ?

पढ्न लाग्ने समय : मिनेट

इच्छा गुरुङ । केही समय अगाडि मेसेन्जरमा आएको म्यासेजले म एकछिन टक्क रोकिएँ । र, म तपाईंको लेख पढेर रोएँ…छोरा मान्छे भएर रुन हुन्न भन्छन् तर म रोएँ…’ यो म्यासेज ३ पटक पढेँ ।

कयौं म्यासेजहरू आउँछन् तर केही म्यासेजहरूले घोत्लिन बाध्य बनाउँछन् । यही सोचले मैलै उहाँसँग त्यत्तिबेलै केही कुरा गरेँ ।

‘४० वर्ष अघिको मेरो पनि एक कथा छ, धेरै वर्षदेखि मनमा दबिएको लेखिदिनुहुन्छ…?’

एकक्षण सोचेँ ओहो ! जे देखिन्छ त्यो भन्दा फरक रहेछ संसार । सबैको आफ्नै भोगाई हुँदोरहेछ, कति भनिन्छन्, कति मनमै दबिएका होलान् । तिनै दबिएका स्मरणहरू पुराना घाउजस्तै बन्ने रहेछन् जो बेला बेलामा दुखिरहने, चहराईरहने कहिल्यै निको नहुने ।

तर सुनिदिने धैर्यता राखिदिन सके ती पुराना घाउहरूमा मलहमपट्टी गरेजस्तै हुँदो हो नि भन्ने मनमा लाग्यो, तसर्थः उहाँको जीवन कथा सुन्ने निर्णय गरेँ ।

‘हुन्छ लेख्छु मलाई थोरै समय दिनुस्….’

म ८ वर्षको हुँदा हाम्रो जीवनमा एक ठूलो बज्रपात आइलाग्यो….

दविएको मनका ज्वारभाटहरू हुँडलिएका बेला कहाँं कसलाई पोखुँ भएको थियो, सायद उहाँले त्यसै दिन २ पेज जति लेखेर फोटो खिचेर मेसेन्जरमै पठाउनुभयो । हरेक लाइन पढ्दै जाँदा मेरो मनै भारि हुँदै गयो ।

तपाईंको मनमा के के छन् त्यो सबै लेख्नुस् मनमा केही नराख्नुस् भनें । तर अर्को मनले कता–कता शंका गर्यो । यतिबेला लक डाउन छ, ३ महिना भइसक्यो सबै घरमा बस्न बाध्य भएको ।

इच्छा गुरुङ

यो कतै लक डाउनले निम्त्याएको मानसिक उथलपुथल त होइन ? यस्तो बेला सबैको तनावको मात्रा बढिरहेको अवस्थामा कतै भावनामा धेरै बहकिएको वा अरु नै केही नै पो छ कि ? भित्रभित्रै…यस्तै तर्कना मनमा एक्कासी उठ्यो ।

यसबारे अझै गहिरिएर जान्न इच्छा जाग्यो ।

तपाईको घरमा आएर भेट्न सक्छु ? तपाईंको घरको एक कप चिया पिउन मन लाग्यो’ मैलै सोधि हालेँ ।

‘एनी टाइम वेलकम म त एकदम खुशी हुनेछु आउनुस् प्लिज’ उहाँको खुशी शब्दमै झल्किएको थियो ।

चियाको बहनामा कथाहरू खोज्ने आदत बस्न थालेछ मलाई । मेरो आदतलाई भावनाले नउछिनोस् बरु सत्यको नजिक पुगियोस् भन्ने मनसाय सहित भोलि भट्ने सल्लाह गर्दै म्यासेन्जरबाट बिदा भएँ ।

राति अनलाइन हुँदा उहाँका अरु म्यासेजहरू आएका रहेछन् । मान्छेलाई दबिएका कुराले कतिसम्म तड्पाउँदो रहेछ मैले उहाँका हरेक शब्दमा महशुस गरिरहेकी थिएँ । सम्झिएका र आएका जति सबै कुराहरू लेख्नुभएको रहेछ ।

पढ्दै जाँदा म आफैं रोकिएर बाहिरको निष्पट अँध्यारोलाई नियाल्थेँ । मान्छेको जीवन साँच्चै कथा नै कथाहरूको चाङजस्तो लाग्यो । त्यो रात बित्यो ।

बिहान आँखा उघ्रिन अलि ढिलो भएको थियो । उहाँको म्यासेज आईसकेको रहेछ ।

‘गुड मर्निङ म्याम् कतिखेर आउनुहुन्छ ? कथा भन्न उहाँको हतारोपना म्यासेजमा छचल्किरहेको थियो ।

मैले खाना खाएर आउँछु भनेँ । मैले उहाँ भित्रको छटपटी बुझिरहेको थिए छिट्टै बुढानीलकण्ठ हान्निएँ । गणेश चोकसम्म उहाँ लिन आउनुभयो र मलाई उहाँको चिटिक्क सून्दर घरमा पुग्दा उहाँकी हँसिली श्रीमतीले स्वागत गर्नुभयो ।

एक छोरा र छोरी अर्को कोठामा पढिरहेका थिए । साबुन पानीले हात धोएँ स्यानिटाइजर हातमा लगाएर हामी बातचीतको लागि बस्यौँ ।

पहिले आँखा भित्तामा पुग्यो ।  पुराना फोटोहरू लस्करै थिए ।

बा, आमा, बहीनी र म हो त्यो फोटोको, दिदिको त फोटो छैन । यो फोटो खिचेको त्यस्तै ८,९ महिनापछि त्यो घटना भएको हो ।’ श्यामस्वेत तस्वीरका मान्छेहरू चिनाउँदै उहाँले भन्नुभयो । त्यो २०३७ साल तिरको फोटो रहेछ मनमनै गुने ।

त्यसपछि घोत्लिँदै उहाँले बाल्यकालदेखिको त्यो घाउका खाटाहरू उप्काउन सुरू गर्नुभयो । म चुपचाप सुनि रहेँ ।

मेरो नाम जीवन शाही खड्गी । बा,आमा, एक दिदी, एक बहीनी र म ५ जनाको परिवार थियौं । म २०३१ सालमा जन्मिएको हुँ ।

मध्यम वर्गीय हाम्रो सगोल परिवार महाराजगन्जको स्थानीय थियौं । हाल यहाँ घर बनाएर सरेको हो ।

त्यतिबेला म ८ वर्षको हुँदा हाम्रो जीवनमा एक ठूलो बज्रपात आइलाग्यो त्यसले हामी सबैको जीवनमा कहिल्यै निको नहुने गहिरो घाउ छोडेर गयो ।

२०३८ साल पौष १४ गते शुक्रबारको साँझ मेरो बा र आफन्तहरू गुठीको मिटिङको लागि जानुभएका थियो । मिटिङ सकिँदा ढिलो भएछ, त्यस्तै रातको ११, १२ बजेको समयमा सबै एकसाथ फर्किंदै गर्दा बालाई ट्वाइलेट लागेर लाजिम्पाटको टुकुचा खोलातिर जानुभएछ, अरु साथीहरू बाटो छेउमा कुिररहे ।

एकैक्षणमा बा चिच्याएको आवाज सुनेर सबै त्यतैतिर हेर्न जाँदा एउटा मरसिडिज कार हुइँकिएर अगाडि गयो ।

त्यो गाडीमा राजदरबारका ठूलै मान्छे र एक महिला सवार रहेको आफन्तले देखेछन् । सोही कारले बालाई ठक्कर दिएर भागेको रहेछ ।

हारगुहार गरेर बालाई वीर अस्पताल पुर्याइयो । बा’को एउटा आँखा बाहिर निस्किएको टाउकोमा गहिरो चोट लागेको रहेछ । त्यो रात छिचोलेर उज्यालो हुन लाग्दा बा सदाका लागि अस्ताए ।

आमाको अन्तिम इच्छा आफ्नो श्रीमानको लास हेर्छु भन्ने थियो तर दिईएन…अन्तिम संस्कार गरियो…बा गुमाएसँगै हाम्रो परिवारको खुशीमा पनि ग्रहणकाल सुरू भयो ।

म जम्मा ८ वर्षको भए पनि म अलि बुझ्थेँ, खोइ किन हो सायद बाले छिट्टै छोडेर जाने भएर दैवले मलाई परिवार सम्हाल्नको लागि उमेरभन्दा अलि छिटो परिपक्व बनाईदिएका हुन् कि ।

केही समयपछि थाहा भयो दरबारको ठक्कर दिने त्यो मरसिडिज कारको नम्बर प्लेट रातारात फेरिएछ । पञ्चायतीकाल भएकोले कहीँकतै उजुरी गर्न सक्ने अवस्थै थिएन त्यहीमाथि राजपरिवारको सदस्यमाथि बोल्ने हिम्मत राख्नु भनेको देशद्रोही बन्नुजस्तै थियो त्यतिबेला ।

एक रैतीले त्यो गर्ने दुस्साहस कसरी गर्न सक्थ्यो र, राज्य सत्ता, मदिरा, यौवनको उन्मादमा छाडा गोरु झैं हिन्हिनाएर हिँडेको दरबारका माहाराजाले एक नागरिक भुसुनासरी मारे तर कोही बोल्नै सकेनन् ।

त्यसपछिका दिनहरूबाट मेरी आमाको भौतिक, मानसिक, सामाजिक, आर्थिक संघर्षलाई मेरो बालमष्तिस्कले रामैसँग महसुश गर्दै आएको छ ।

मेरो बा तात्कालीन समयमा इण्डियन एम्बेसी गैरीधारामा काम गर्नुहुन्थ्यो । बा’को स्थायी हुने पत्र आएको पनि घटना भएकै दिन २०३८ साल पौष १४ रहेछ ।

तर, शुक्रबार परेको कारण दिन नभ्याएकोले आइतबार दिने एम्बेसीको योजना रहेछ, त्यसै दिन राति घटना भयो, बा’को जीवनमा त्यो आइतबार कहिल्यै आएन ।

यदि त्यो स्थायी पत्र अलि अगाडि पाएको भए केही आर्थिक सहयोग मिल्थ्यो कि भन्ने मनमा लागिरहन्छ । इण्डियन एम्बेसीमा बा’को सट्टामा आमाले काम पाउनुभयो फूलबारी गोडमेल गर्ने काम ।

तर त्यो पनि लामो समय टिक्न सकेन । एक पटक इण्डियन एम्बेसीमा कार्यरत नेपाली कर्मचारीहरूले आफ्ना मागहरू राखेर आन्दोलन गरेका रहेछन्, आमा सारै सीधा हुनुहुन्थ्यो आन्दोलनको बारेमा केही थाहा नै नपाएकी मेरी आमालाई अरु कर्मचारीले कालो पट्टी हातमा बाँधिदिएछन् । त्यसपछि एम्बेसीले कारबाही गरेर आमाको जागीर खोसिदियो ।

बा’को मृत्युपछिको केही समयबाट हामी छुट्टै बस्न थालेका थियौं । कमाएर परिवार पाल्ने मूली नै नभएपछि चिचिला ३ नानी च्यापेर तात्कालीन नेपाली समाजमा बाँच्न कति धौ–धौ भयो होला । अरुले दूध चिया खाँदा हामीले रातो चियामा चित्त बुझायौं । अरुले मिठो खाजा खान्थे हामीले खाने खाजा बासी भात मात्रै हुन्थ्यो ।

भरभराउँदो ३० वर्षमै श्रीमान गुमाउनुभएकी मेरी आमा निकै सुन्दर हुनुहुन्थ्यो कतिले लान्छु भने, तर आमाले हाम्रो मायाले फेरि बिहे गर्नुभएन । आमाको दुःख हामी चुपचाप हेरिरहन बाहेक के गर्न सक्थ्यौं र, सानै थियौं ।

छोराछोरी पाल्न आमाले हातमा ठेला उठ्ने गरी ठेला धकेल्दै व्यापार पनि गर्नुभयो ।

तर त्यो पनि स्थायी बन्न सकेन । बल्ल–बल्ल त्यो बेलाको चिरपरिचित ज्वाला सिस्टरको सहयोगमा कान्ति बाल अस्पतालमा कार्यालय सहयोगीको जागिर पाउनुभयो, मासिक २४० रुपैया तलब आउँथ्यो ।

कक्षा ६ मा पुगेपछि भने, मैले फुपाजूको साइकल पसलमा सहयोग गर्न थालेँ, त्यस बापत मैले केही पैसा पाउँथें ।

त्यतिले पनि म दङ्ग, मन लागेको खाजा खान्थेँ, बाँकी बचाएर आमालाई सहयोग गर्न थालेँ । ठूली दिदीले आफै छिट्टै बिहे गर्नुभएपछि, आमापछिको म नै हुँ अब घर सम्हाल्ने भन्ने सोच आउन थालेको थियो, बिस्तारै जिम्मेवार बन्दै गएको थिएँ ।

२०४४ सालमा घर छेउमा सानो पसल गर्न थालेँ । स्कुल पढ्दै बहिनी र म पसल चलाउँथ्यौं, आमाले ड्युटी नहुँदा सहयोग गर्नुहुन्थ्यो ।

जीवनको गति बिस्तारै अघि त बढ्यो, तर मनको पोलिरहने गहिरो घाउ त दुखिरहन्थ्यो आमालाई अनि हामी सबैलाई । मनमा त्रास, भय आजीवन रह्यो आमालाई ।

अस्पतालमा तीन सिफ्ट ड्युटी गर्नुपर्ने, राति ड्युटी परेको बेला हामी एक्लै घरमा सुत्न एकदम डर लाग्थ्यो । श्रीमानको मृत्युपछि छोरा छोरीलाई कसैले केही गरिदेला कि भनेर आमा राति घरी–घरी उठेर छाम्नुहुन्थ्यो हामीलाई ।

आफ्नै भाग्य दुःखहरूका भेलहरूमा तैरिरहँदा रहँदा समाजका प्रहारहरू झनै कती चोटिला हुन्छन्, तर पनि कति विचलित नभई सन्तानको लागि महासागर बन्नुभयो सबै चुपचाप सहेर ।

त्यो सबै बालापनदेखि नै मैलै देख्दै आएको हुँ । एक एकल महिलाले गरेको जीवन संघर्षको साक्षी हुँ म ।

धर्तीजस्ती मेरी आमाका छहारीमा आधा जीवन काटेँ, तर बाको हात समाएर काठमाडौंको गल्लिगल्लि उफ्रँदै खेल्ने मेरो सपना अधुरो नै रहेको थियो । २०४७ सालमा एस.एल.सी. पहिलो श्रेणीमा पास भएको खुशीको समाचार आमालाई सुनाइरहँदा बालाई धेरै सम्झिएँ ।

रिजल्ट आएको खबर पाएपछि महाराजगन्जबाट न्युरोडसम्म साथीसँगै दौडेर गोरखापत्र संस्थानको गेटमा पुगिरहँदा म बा’लाई सम्झिरहेको थिएँ ।

खुशीले सासको गति धकधक गर्दै थियो अनि आँखाहरूले बा खोजिरहेका थिए । जे कुरा आफूसँग छैन त्यो धरै याद आउँछ भन्थे, सायद त्यस्तै भएको थियो त्यो बेला मलाई ।

एस.एल.सी. प्रथम श्रेणीमा त्यो बेलामा पास हुनु चानचुने कुरा हो र ?..त्यसैले त्यो अपार खुशी आमालाई साट्दा बालाई मनले धेरै खोजिरह्यो ।

आमा नआँत्तिनु, उपचार राम्रो भएको छ, निको भएर घर जानुपर्छ ल…..

आमालाई सुखसँग पाल्छु भन्ने सपना मनभरि सम्हालेर पिपल्स क्याम्पस भर्ना भएँ । पढाईसँगै भिडियो ल्याबमा काम गरें, ट्युसन पढाउन थालेँ ।

खुल्ला प्रतिस्पर्धाबाट भानुभक्त मेमोरियल स्कुल पानीपोखरीमा शिक्षकमा नाम निकाल्न सफल भए । जहाँ मैले १९ वर्ष सेवा गरेँ । मेरो पनि परिवार बन्यो, बहिनीको घरजम भयो ।

आमालाई हलुका हुँदै गयो, उहाँले अस्पतालबाट अवकाश लिनुभयो ।

जीवनमा मैले असाध्यै माया गरेको मेरो आराध्य र ममतामयी आमाको बुढ्यौली दिनहरू बिस्तारै कष्टकर हुँदै गए । आमालाई मानसिक समस्या थियो । मलाई के लाग्छ भने बाको मृत्यु भएपछि उहाँको अन्तिम दर्शन गर्न नपाएको कुराले उहाँलाई धेरै आघात परेको थियो ।

बेला–बेलामा भनिरहनुहुन्थ्यो अन्तिम पटक देख्नै पाइन भनेर ।

त्यसपछि बेला–बेलामा उहाँलाई समस्या देखिँदै आयो । तर हाम्रै लागि उहाँले आफूलाई बलियो बनाएर बाँच्नुभयो ।

तर सधैं शरीरले साथ दिँदैन रहेछ बुढ्यौलीसँगै शरीर कमजोर हुँदै जाँदा रोगले च्याप्न थाल्यो । २०५२ सालदेखि आमाको मानसिक समस्या झन् बढ्न थाल्यो । बाले छोडेर जानुभएपछि उहाँको सुखदुःखको मन भुलाउने साथी चुरोट बनेको थियो, चेन स्मोकर हुनुभयो । जसको कारण उहाँलाई दम भन्ने रोगले साथी बनायो ।

आफैं जवान छोरा छोरीको बाउ बनिसक्दा पनि आमा देखेपछि सबै बिर्सन्थेँ काखमा लुटुपुटु हुन मन लाग्ने, आमाको मजेत्रो ओढेर सँगै ढेसिएर बात मार्न मन लाग्ने रहेछ ।

फुर्सदको समय आमासँग बिताउँथें, फकाई–फकाई चुरोटको मात्रा घटाएर दिनको दुई खिल्ली मात्र खाने हुनुभयो ।

टिचिङ अस्पतालमा उहाँको चेकअप र नियमित फलोअप गर्ने गरेका थियौं, तर एक दिन भर्ना गर्नैपर्ने अवस्था भयो । १९ दिन अस्पतालको सेरोफेरोमा बितेपछि, दुवै फोक्सोले काम गर्न छाडेको डाक्टरले बताउँदा मन चिसो भयो ।

अरु बेला ‘आमा नआँत्तिनु, उपचार राम्रो भएको छ, निको भएर घर जानुपर्छ ल…’ भन्दा हुन्छ भन्नुहुन्थ्यो, तर त्यो एकदिन आईसीयू कक्षको बेडमा सुतिरहनुभएकी आमाले केही उत्तर दिनुभएन हामीलाई हेरिरहनु मात्र भयो, सायद उहाँको अन्तरमनले भनिरहेको थियो ‘अब म फर्कन सक्दिन…मेरो शरीरका अंशहरू यी छोराछोरीलाई मनभरि हेरिरहन्छु आँखाको ढकनी बन्द नहुन्जेल…।’

दैवको अगाडि कसैको जोर चलेन, अन्ततः ६९ वर्षकै उमेरमा उहाँले सदाको लागि आँखा चिम्लनुभयो ।

यौवन अवस्थामा विधवा हुनुभयो…..

म फेरि अर्को पटक चेतनाशून्य भएँ ।

भाउजू चियाका गिलासहरू लिएर पस्नुभयो । हामी तीनै जना मौन थियौं । केही नबोली आ–आफ्नो भाग चिया समात्यौं ।

आमा जानुभएको कति भयो ’ मौनता भङ्ग गर्दै मैले सोधें ।

गएको वैशाख २८ गते तिथिअनुसार वर्ष दिनको काम सक्यौं..एक वर्ष भयो..’

जीवनका एक अध्यायको समाप्ती । एक आमा अनि एकल महिलाले प्रत्यक्ष अप्रत्यक्ष व्यक्त अव्यक्त रूपमा भोगेका शरीरिक, मानसिक, भौतिक, सामाजिक, सबै नै भोगाई सहँदै संर्घषपूर्ण जीवनको अध्याय सकियो ।

उनले यो सांसारिक जन्जालबाट मुक्ति त पाईन् तर अरु एकल महिलाहरू भोग्दै छन् सांसारिक चोला ।

आमा र स्त्रीलाई धर्ति भनी–भनी सबै चोट, पीडा, चाहानाहरू मनमै कुण्ठित पार्न विवश पारिन्छ । जसका कारण जीवन सरल हुँदाहुँदै पनि जटिल बनिरहेका छन् ।

कुराकानीकै क्रममा उहाँले भने, टु बी फ्र्याङ्क…आमालाई मानसिक समस्या हुनुमा बाको असामयिक मृत्यु एक हो नै । त्यससँगै अरु पनी कारण छन् । उहाँ सम्पन्न परिवारकी छोरी तर विवाहपछि हदभन्दा धरै दुःख पाउनुभयो ।

अर्को सत्य के लाग्छ भने, यौवन अवस्थामा विधवा हुनुभयो..जवान उमेरकै देखेर कतिले लान्छु त भने होलान् तर ३ जना बच्चाको भविष्यको कुरा थियो आमालाई मात्र लान्छु भन्ने सन्तानको वास्ता गरेन कि..??

त्यस समयमा प्रेमबिनाको जीवन, यौन बिनाको जीवन, एक खालको सामाजिक बहिष्कार, अपमान यी सबैको योग होला ! आमा कुण्ठित हुँदै जानुभयो ।

अर्को महत्वपूर्ण कारण हाम्रो समाजिक व्यवस्था थियो एकल वा विधवा महिलाले दोस्रो विहे वा दोस्रो साथी खोजे चरित्रमाथि प्रश्न उठाइन्छन् झन् त्यतिबेलाको सामाजिक अवस्था कहाली लाग्दो थियो…।’

‘मनका पीडाहरू कति व्यक्त कति अव्यक्त होलान् । मान्छेले मान्छेको सबै अवस्था बुझ्न सक्नुपर्छ ।

पुरुषवादी सोचले मात्र सोच्छन् …मान्छे भएर सोच्न अभ्यास गर्नुपर्छ, मेरो आमाको पुस्ताले त भोगे तर अबको पुस्ताले स्त्री भएकै कारणले कुनै पनी विषयमा दविएर, कुण्ठित हुन नपरोस्…..खुलेर बोल्न सक्नुपर्छ । यी सबै मेरो आमाको पीडा महसुश गरेर भन्दैछु, मेरो आमाप्रति समर्पित सच्चा श्रद्धाञ्जली हो यो । ’

यति भनिसकेर बल्ल उनी शान्त देखिए । ४० वर्षदेखि दविएको मनको वेदना पोको पारेका थिए, आमाको पीडासँगै छोरा, जो पोखिएका थिए ।

त्यसपछि अरु केही पुराना फोटाहरू हेरियो । अनि स–धन्यवाद बिदा भएँ ।

बाहिर उज्यालो, हरियाली र शान्त थियो । फेरि बुढानीलकण्ठ क्षेत्र मलाई प्राकृतिक रूपमा असाध्यै रमाइलो लाग्छ ।

अघिल्लो दिन उनको मेसेज आएदेखि मनमा उब्जिएका सबै प्रश्नहरूको उत्तर पाएपछि मैले पनि शान्ति महशुस गरेँ । तर मनले एकहोरो बात मरिरहेको थियो ।

वाह ! हाम्रो समाजभित्रको एकजना आँटिलो पुरुष ।

जसले सानैमा अनाहकमा बा गुमाउनुपर्दाको पीडासँगै आमाभित्रको मनोभाव आजसम्म दबाएर राखे तर आज सबै निर्धक्क पोखेर खुल्ला किताब बने ।

#गल्लीगल्लीका कथाहरू
#लक डाउन डायरी