Advertisiment

डा. गोविन्द केसीकाे १९ औं सत्याग्रह जुम्लाबाट सुरु, यि हुन माग (पूर्णपाठ)


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएकाे छ ।

डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका लागि आफूले राखेका विभिन्न मागहरु सुनुवाइ नभएको भन्दै आज (सोमवार) दिउँसो २ बजेदेखि अनसन सुरु गर्नुभएकाे हाे।

वरिष्ठ चिकित्सक गोविन्द केसीकाे याे १९ औं सत्याग्रह हाे । डा. केसीले यो पटक विभिन्न ६ बुँदे माग राख्दै अनसन सुरु गर्नुभएकाे छ ।

६ बुँदे माग यस्ताे छः

डा. केसीले आफ्नो पहिलो माग कर्णाली स्वास्थ्य विज्ञान प्रतिशठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश दुई र गण्डकी प्रदशे तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग राख्नुभएकाे छ ।

यस्तै, मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि उहाँकाे छ ।

डा. केसीले आफुसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने पनि माग राख्नुभएकाे छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उठाउनुभएकाे छ ।

तस्वीरः अमरनाथ याेगी/जुम्ला

यस्तै, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिस्चित गर्नुपर्ने, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गर्नुपर्ने, बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारवाही गर्नुपर्ने लगायतका माग पनि समावेश छन् ।

उहाँले सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गर्नुपर्ने माग समेत गर्नुभएकाे छ ।

अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने समेत डा. केसीकाे माग छ ।

यसअघि उहाँले १८ औं अनसन सीमा विवादको विषय चर्किएकाले आफ्नो अनसन आफैले स्थागित गर्नुभएकाे थियाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment