गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध

पढ्न लाग्ने समय : मिनेट

गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मर्स्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्याएपछि आवत जावत अवरुद्ध भएको छ । तनहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्याएको उहाँले बताउनुभयो । “पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन, उहाँले भन्नुभयो, “तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अफ्ठ्याराे भएको छ ।” बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताउनुभयो ।

उहाँले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । “पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ, उहाँले भन्नुभयो, “बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।” उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।