Advertisiment

सुन खानीमा पहिरो, ५० जनाको मृत्यु


एजेन्सी । कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ ।

धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका हुन् । पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेको प्रान्तीय प्रशासक कासीले बताएका छन् ।

उद्धारकर्ताहरू मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेको बताइएको छ ।

उक्त पहिरोमा केही व्यक्ति बच्न सफल भएका छन् ।

उनीहरुका अनुसार खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिनको शोक अवधिको घोषणा गरेका छन् ।

उनले स्थानीय बासिन्दालाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्ताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

दक्षिण किवु प्रान्तमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक बर्ष स्थानीय बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने र सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment