Advertisiment

बसभित्र किशोरी बलात्कार आरोपी फरार राई भद्रपुरबाट पक्राउ


झापा । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी आज काठमाडाैं ल्याएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बेहोस बनाएर रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी यहाँ ल्याएर अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा. ३ ख. २६१२ नम्बरको बसमा किशोरीलाई रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सूर्य श्रेष्ठलाई पक्राउ गरेर किशोरीको बसबाट उद्दार गरिएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment