Advertisement

लैङ्गिक विभेद र व्यवहारिक जटिलता


इच्छा गुरुङ । एक दिन साँझ वसन्तपुरमा चिया पिउन पुगेकी थिएँ । साथी कुरेर बसिरहँदा एक जना १० बर्षकी र अर्को १२ बर्षकी नानीहरु पोष्टकार्ड बेच्दै आइपुगे । पोष्टकार्ड बोहनी गरिदिन आग्रह गरिरहेका ती नानीहरुको विनयलाई टार्न सकिन । बोहनी भएर उनीहरु खुशी भए सँगै मैले केही कुराहरु सोधेँ । दोलखाबाट काठमाडाैं आएको ७ बर्ष भयो, वसन्तपुर छेउमा डेरा गरी बस्ने ती नानीहरुको परिवारमा २ छोरी, १ छोरा र बा आमा रहेछन् । कोरोना महामारीले गर्दा छोरा छोरी सबैको स्कुल खुलेको छैन । १४ बर्षको छोरा कोठामा बसेर ट्यूसन पढ्छन् । दुई छोरीहरु साँझ परेपछि वसन्तपुरमा पोष्टकार्ड बेच्दै आमालाई तरकारी किन्न सघाउँछन् ।

दुई दिदी बहिनीहरु फोटो खिच्न मान्दैनन् किनकी स्कुलको मिसहरुले कतै देखिहाले भने पोष्टकार्ड बेच्दै हिँडेको भनेर गाली गर्नुहुन्छ भन्ने डर रहेछ उनीहरुलाई । उनीहरुको अभिभावकको लागि छोरा पढेर ठुलो भए् पाल्छ भन्ने सोचका कारण पढेर बस्न पाएको छ तर ती नानीहरु बिहे गरेर अर्काको घर जाने त हो भन्ने सोचका कारण तरकारी किन्ने पैसा जुटाउन पठाइएको छ ।

 

अन्तर्राष्ट्रिय जगतमा कतिपय देशमा वैवाहिक मान्यता पाइसकेको तेस्रोलिङ्गीहरुले नेपालमा भने अझै पहिचानकै लागि लडिरहन परेको छ । समाजमा खुलेर अगाडि आउन र सम्मानपूर्वक बाँच्न अझै उनीहरुले कहिलेसम्म लडिरहन पर्ने हो थाहा छैन ।

 

कमलाको सम्बन्ध विच्छेद भएको १० बर्ष भयो । उहिले नै किनेको आफ्नो नामको जग्गा, सम्बन्ध विच्छेद पश्चात आफ्नो नाममा परेको भएपनि पूर्व पतिको नाम हटाउन पर्छ भनेर उनलाई त्यतीबेला थाहा भएन, हाल एक दशकपछि संशोधन गर्नु पर्‍यो भनेर वडाको सिफारिस, सम्बन्धित आवश्यक कागजपत्र सबै लिएर उनी मालपोत कार्यालय पुगेर निवेदन दिइन् । तर पूर्व पति लिएर आएर उसले मञ्जुरी दिए मात्र संशोधन हुन सक्ने नत्र नहुने भनेर उनको फाइल तामेलीमा राखियो । कानूनतः पाएको अधिकारमा पनि सम्बन्ध नै नरहेको पूर्व पतिको स्वीकृती लिइराख्न पर्ने कस्तो विभेदकारी व्यवस्था हो यो ?

इच्छा गुरुङ

अन्तर्राष्ट्रिय जगतमा कतिपय देशमा वैवाहिक मान्यता पाइसकेको तेस्रोलिङ्गीहरुले नेपालमा भने अझै पहिचानकै लागि लडिरहन परेको छ । समाजमा खुलेर अगाडि आउन र सम्मानपूर्वक बाँच्न अझै उनीहरुले कहिलेसम्म लडिरहन पर्ने हो थाहा छैन ।

सडकमा बस्ने गरेकी अर्ध मानसिक सन्तुलनकी २७ बर्षकी एक महिलालाई फकाइ फुल्याई एक पुरुषले आफ्नो कोठामा लगेर ६ महिना सम्म राख्छन् जब ती महिला गर्भवती भएको उक्त पुरुषले थाहा पाउँछ फेरि बाटोमै लगेर उनलाई छाडेर पुरुष वेपत्ता हुन्छ ।

शारिरिक आवश्यकता पूरा गर्न जुनसुकै हदसम्म पनि जान सक्ने पाशविक प्रवृत्तिको उक्त पुरुषहरुका कारण सज्जनहरुलाई समेत अफ्ठ्यारो परेको अवस्था छ । महिला भन्ना साथ भोग्य वस्तुझैँ सम्झने सोच कतै हाम्रै रुढीवादी, परम्परा, संस्कारका कारण त हैन ?

नायिका स्वेता खड्काको दोस्रो विवाह भयो ।

 

लोकतान्त्रिक मुलुकमा लिङ्गको आधारमा कसैप्रति पनि कुनै पनि किसिमको भेदभाव नहोस् भनिरहँदा के साच्चै यस सोचबाट हामी व्यवहारिक रुपमा अभ्यस्त हुन सकेका छौँ त ? मुख्य प्रश्न नै यहि हो ।

 

एक चर्चित सेलिब्रेटी मात्र होइन उनी सामाजिक अभियन्ता समेत भएकोले उनको विहेलाई लिएर सबैको चासो हुनु नौलो कुरा भएन । उनको साहसी परिवर्तनकारी निर्णयको धेरैले प्रशंसा गरे । उनको विवाहका तस्वीरहरु र शुभकामनाले सामाजिक सञ्जाल तरंगित भयो । त्यससँगै कलाकार श्रीकृष्ण श्रेष्ठको विधवाको दोस्रो विवाहप्रति लक्षित गर्दै अनेक टिका टिप्पणी समेत गरिए ।

हाम्रो सामाजिक व्यवस्था अनुसार त्यस्ता नकारात्मक टिकाटिप्पणी आउनु सामान्य नै हो किनकी पुरातन रुढीवादी सामाजिक वातावरणमा हुर्किएका हामीमा श्रीमती बितेको विधुरले १३ दिनको काजकिरिया भित्रै दोस्रो विहेको लागि अर्को महिला खोज्न छुट छ तर श्रीमान बितेका विधवाले दोस्रो जीवन जिउनु पाप हो भनेर हाम्रो मस्तिष्कमा भरिएको छ ।

यति लेखिरहँदा पुरुष बिरोधी लेख रहेछ भन्ने लाग्न सक्छ । त्यो पटक्कै होइन, जहाँ अनमेल व्यवस्था छ त्यहाँ तुलनात्मक रुपमा महिलानै बढी विभेदमा परेका छन् । हाम्रो सामाजिक व्यवस्थाले पुरुषलाई कठोर वर्गको मानिस भनेर भनिदिएको छ ।

अनि खुलेर आँशु झार्न पनि नसक्ने, जसरी पनि एक्लैले परिवार पाल्नुपर्छ है, कूलको उत्तराधिकारी हो बलियो हुनुपर्छ भनेर जन्मनासाथ त्यही वातावरणमा हुर्काइएपछि उसले आफूबाहेक अरुलाई त कमजोेर नै देख्ने भयो । बलियो मान्छेले रुन पनि हुँदैन है नत्र अरुले नामर्द भन्छन् भन्ने डर मनमा भरिदिएपछि पुरुषार्थ जोगाउन भएपनि मनका पीडा सबै कुण्ठित हुने नै भए ।

उल्लेखित प्रसंगहरु सबै लैङ्गिक विभेद विरुद्धको १६ दिने अभियान चलिरहँदाका विभिन्न कार्यक्रम, भेटघाटका क्रममा भेटिएका र देखिएका ज्वलन्त उदाहरणहरु हुन् । जसले हाम्रो समाजभित्र विभेदको जर्जरता, देशको सिस्टमका जटिलता, अलमलकारी, बिभेदकारी निती नियमका कारण नागरीक कसरी पिल्सीएका छन् भनेर बुझ्न सकीन्छ ।

उल्लेखित उदाहरणहरु दुरदराजका ग्रामिण भेगहरुलाई छोडेर सबै शहरी क्षेत्रका मात्र हुन् । चेतना, शिक्षा नभएको क्षेत्रहरुमा त एकपक्षीय राज छ । महिला र अन्यको अवस्था झनै दर्दानक छन् ।

हिजोको समय र आजको तुलना गर्ने हो भने परिवर्तन र परिमार्जन कत्ति पनी भएन भन्ने त होइन, चेतनाका लहरहरु आइरहेका छन् । श्रीमान बितेपछि सती जानै पर्ने, नगए ढुङ्गाले हानेर मार्ने संस्कार कुनै बेला हाम्रो देशमा थियो । तर आजसम्म आइपुदा धेरै परिवर्तन भएका छन् । बाल विवाह, दाइजो प्रथा, मानव बेचबिखन, देवकीप्रथा, जातपात, दासप्रथा आदीलाई कानुनत दण्डनीय मानेको छ । कानूनमा त लेखियो तर व्यवहारिकतामा कठिनाई उस्तै छ ।

लोकतान्त्रिक मुलुकमा लिङ्गको आधारमा कसैप्रति पनि कुनै पनि किसिमको भेदभाव नहोस् भनिरहँदा के साच्चै यस सोचबाट हामी व्यवहारिक रुपमा अभ्यस्त हुन सकेका छौँ त ? मुख्य प्रश्न नै यहि हो ।

हाम्रो सामाजिक व्यवस्था कतिपय अवस्थामा हाम्रै धर्म संस्कृतिहरुबाट परिचालित भएका कारण लैङ्गिक विभेद भैरहेको सत्यलाई नकार्न सकिदैन । धर्म र आस्थाप्रति ठेस नपुग्ने गरी सकारात्मक परिमार्जनको लागि सकारात्मक बहस आजको आवश्यकता पनि हो ।

यसको लागि स्वयं हरेक व्यक्तिले आफ्नो सोच नै परिवर्तन गर्न जरुरी छ । त्यसपछि घरपरिवार, समाजभित्र छलफल चलाउन आवश्यक छ । हुन त सदियौँदेखि जरा गाडेर बसेको धार्मिक, सामाजिक व्यवस्थालाई केही समयमै परिर्वतन हुन्छ भन्नु हतार हुनेछ तर कुनै लिङ्गभन्दा पहिले समग्र मानव जातिको भलो र नैर्सगिक अधिकारको लागि खुल्ला हृदय सबैको हुन जरुरी छ । महिला, पुरुष वा अन्य हुनुभन्दा पहिले सबै मानव हुन् । सबै समान हुन्, सबैमा समान भावना हुन्छ, आ–आफ्नै क्षमताका धनी हुन्छन् ।

सबैलाई समान शिक्षा, अधिकार र अवसर दिइए मात्र लैङ्गिक विभेदको अन्त्य सम्भव छ ।


इच्छा गुरुङ नयाँ सञ्चारमा स्तम्भ लेखक र नाइस टेलिभिजनमा कार्यक्रम प्रस्ताेताकाे रुपमा कार्यरत हुनुहुन्छ । 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement