Advertisiment

शहिदभूमि गाउँपालिकामा फलफूलकाे वृक्षाराेपण तीब्र


सन्तोष रुचाल, धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले खाली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न सुरू गरेको छ ।

स्थानीय कृषकहरूको दिगो आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यले गाउँपालिकाका खाली रहेका बाँझो जमिनमा फलफूलको विरुवा रोपण गरिएको हो ।

संयुक्त राष्ट्र संघ (यूएनडीपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयुक्त पहलमा एभोकाडो र आँपका एक हजार विरुवा गाउँपालिकाका ३ सय ५० रोपनीमा वृक्षरोपण गरिएको हो ।

गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ ।

त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार्वजनिक जमिनमा ५ सय बोट आँपका विरुवा रोपण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताउनुभयो । उक्त विरुवा खरिद गर्दा ५ लाख ५० हजार खर्च भएको थियो ।

सहिदभूमि गाँउपालिकाको कार्यक्रम, संयुक्त राष्ट्रसंघ (यूएनडीपी) को सहयोग तथा पर्डेप नेपालको समन्वयमा गाउँपालिकाको कुनै पनि वोटविरुवा नभएका खाली जमिनहरू छनोट गरेर फलफूलका विरुवाहरू रोपण गरिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनुभयो ।

फलफूलकाे वृक्षाराेपण, शहिदभूमि धनकुटा

उहाँले भन्नुभयाे–‘फलफूलको विरुवा रोपणले भिरालो भएको जमिनमा पहिरो जानबाट रोक्नुको साथै कृषकहरूको आयआर्जनमा पनि वृद्धि हुन सक्छ ।

त्यसैले यो कार्यक्रमलाई अगाडि बढाएका हौं ।’ यसका साथै अहिले विश्वमा जलवायु परिवर्तनका कारण वातावरणमा गम्भीर प्रभाव परिरहेकाले वातावरणलाई वृक्षरोपणले सन्तुलनमा राख्न पनि सहयोग पुर्याउँदछ–अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकाले सार्वजनिक जमिनमा रोपिएको आँप र एभोकाडोको विरुवा संरक्षण तथा हुर्काउने बढाउने र आम्दानीको स्रोत बलियो बनाउनका निम्ति कृषकहरूलाई जिम्मा दिएको छ ।

यसबाट गरीब, विपन्न कृषकहरूलाई दिगो आयआर्जनका लागि नियमित आम्दानीको स्रोत पनि बन्न सक्दछ ।

दिगो शान्ति, समृद्ध र विकासको लागि आर्थिक रूपान्तरण आवश्यक रहेकाले यो अभियानलाई अगाडि बढाएको पनि अध्यक्ष राईले जोड दिनुभयो ।

सहिदभूमि गाँउपालिकामा सिंचाईबाट सिञ्चित बनाउन प्रदेश सरकार मार्फत् सिंचाई कार्यक्रम पनि सञ्चालन भईरहेको प्रदेश नं. १ का सांसद निरन राईले बताउनुभयो ।

यसले पनि बाँझो र सुख्खा क्षेत्रमा वृक्षरोपण गर्न सहयोग पुग्ने स्थानीय कृषक पदम भण्डारीले बताउनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment