Advertisement

सम्झिए ‘पहिलो सम्पादक’ गौचनलाई


बागलुङ । जिल्लाको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’ का सम्पादक/प्रकाशक स्व ओमकारप्रसाद गौचनको योगदानलाई यहाँका पत्रकारले आज स्मरण गरे । सो पत्रिका विसं २००८ मा प्रकाशित भएको जनाइएको छ । उहाँको स्मृतिमा पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा आयोजित शोकसभाका सहभागीले स्व गौचनप्रति श्रद्धा अर्पण गरे ।

कार्यक्रममा कान्तिपुर दैनिकका पत्रकार प्रकाश बरालले जिल्लाको पत्रकारिताको इतिहास गौचनको सम्पादनमा प्रकाशित पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’सँग जोडिएको बताउनुभयो । तत्कालीन समयमा पत्रकारिता आरम्भ गरेर समाजलाई सुसूचित पार्ने गौचनको योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने उहाँको भनाइ छ ।

शाखाका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले पत्रकारितामा गौचनको लामो योगदान नरहे पनि हस्तलिखित पत्रिकामार्फत तत्कालीन समाजमा पुर्‍याएको देन अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । “अहिले पनि पत्रिकारिता पेशा चुनौतीपूर्ण छ, तत्कालीन समयमा पत्रकारिता कसरी सम्भव हुन्थ्यो होला ?”, उहाँले भन्नुभयो ।

पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका सदस्य सङ्गम घर्तीमगरले गौचनको व्यक्तित्वबाट सबैले पाठ लिनुपर्ने धारणा राख्नुभयो । उहाँले गौचन र त्यसबेलाको पत्रकारिताबारे थप खोज आवश्यक रहेको बताउनुभयो । शाखा अध्यक्ष दिल शिरिषले गौचनलाई समाजको विशष्ट प्रतिभाका रुपमा सम्झनुभयो ।

“आजभन्दा ७० वर्ष पहिले पत्रकारिता गर्नसक्नु उच्च साेंच र चिन्तनको उपज थियो”, उहाँले भन्नुभयो, “गौचनको योगदानलाई महासङ्घले पनि संस्थागत र लिपिबद्ध गर्छ ।” अहिलेसम्मको खोजमा ‘सही बाटो’ जिल्लाकै पहिलो हस्तलिखित पत्रिकाका रुपमा दर्ज भएको उहाँको भनाइ छ ।

‘धवलागिरिको छ दशकीय पत्रकारिता’ मा पनि पहिलो पत्रिकाका रूपमा ‘सही बाटो’ समावेश

साहित्यकार एवं अन्वेषक प्रेम छोटाले खोज र सङ्कलन गरेको पुस्तक ‘धवलागिरिको छ दशकीय पत्रकारिता’ मा पनि पहिलो पत्रिकाका रूपमा ‘सही बाटो’ समावेश छ । यहाँको पत्रकारिता जगतले सोही पत्रिकाले जिल्लाको पत्रकारिताको जग बसेको मानिन्छ । पाक्षिकरुपमा प्रकाशन भएको उक्त पत्रिका अहिले पनि विद्यामन्दिर पुस्तकालयमा सङ्ग्रहित छ ।

पुस्तकालयका प्रधान संरक्षक एवं पूर्वअध्यक्षसमेत रही काम गर्नुभएका गौचनको सम्पादनमा प्रकाशित ‘सही बाटो’को पहिलो अङ्कमा ‘वाटीटक्सारमा गुल्मी माल सार्न दिँदैनन् भन्दै बागलुङमा भीषण जुलुस’ भन्ने शीर्षक छ । पत्रिकाको सम्पादकीयमा ‘यो सही बाटो अखबारले सत्य समाचार प्रचार गर्नेछ, यसले भ्रष्टचारी र तथाकथित प्रतिक्रियावादीको पक्ष लिइ कुनै लेख लेख्ने छैन र यस्तो लेख लिइने पनि छैन तर अत्याचारी उपर जरुर लेख्ने छ”, वाक्यांश उल्लेख छ ।

गौचन सम्पादक÷प्रकाशक रहेको पत्रिकाको उपसम्पादक र व्यवस्थापक गोविन्दलाल श्रेष्ठ हुनुहुन्थ्यो । गौचन, श्रेष्ठलगायत त्यसबेला सिर्जनशील पुस्ताले हातैले लेखेर साहित्यिक र समसामयिक पत्रिका निकाल्थे । तीनै पत्रपत्रिका पाठकका लागि पुस्तकालयमा राखिन्थ्यो । विसं २००३ मा खुलेको विद्यामन्दिर पुस्तकालयमा ‘सही बाटो’सहित, त्यसपछिका ज्योति, मञ्जरी, सरोजलगायतका हस्तलिखित पत्रिका सुरक्षित छन् ।

शुरुआतका समयमा पुस्तकालयमा नेपाली, हिन्दी भाषाका पुस्तक र हस्तलिखित पत्रिका मात्रै थिए । अहिले पुस्तकालय पुग्ने पाठक र अनुसन्धानकर्मीले ती हस्तलिखित पत्रिका रुचिपूर्वक हेर्छन् र पढ्छन् । पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहनुभएका गौचनको गत कात्तिक २६ गते ८५ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो ।

गौचन पञ्चायतकालमा शिक्षा र सञ्चार सहायकमन्त्रीसमेत बन्नुभएको थियो

विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका गौचन पञ्चायतकालमा शिक्षा र सञ्चार सहायकमन्त्रीसमेत बन्नुभएको थियो । गौचन विसं २०२४ मा जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचिन हुनुभएको थियो । विसं २०४८ को संसदीय निर्वाचमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ–३ को सासंदमा चुनिनुभएको थियो ।

राजनीतिसँगै समाजसेवामासमेत उत्तिकै क्रियाशील गौचनले लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत भएर काम गर्नुभएको थियो । उहाँले परिवार नियोजन सङ्घ बागलुङको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । युवा छँदा गौचन कविता, नाटक लेखन, निर्देशनमासमेत सक्रिय हुनुहुन्थ्यो । बहुआयामिक व्यक्तित्वका धनी गौचनलाई जिल्लाबासीले सदा सम्झनेछन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement