पर्यटक पर्खिरहेछ फाप्रे झर्ना…..

पढ्न लाग्ने समय : मिनेट

सन्तोष रुचाल । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको गाउँपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन विकास कार्यक्रम अन्तरगत फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न गरेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षमा विनियोजन गरिएको ३ लाख ५० हजार बजेटले झर्ना जाने बाटोमा सिडी निर्माण, वाल उठाउने र धारा निर्माण कार्य सम्पन्न भएको छथर जोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण कुमार आले मगरले बताउनुभयाे । फाप्रे झर्ना करिब ३० मीटर उचाईको रहेको छ ।

उक्त झर्ना प्रचार–प्रसार तथा बाटोघाटोको अभावमा ओझेल परेकाले झर्ना जाने बाटोमा सिडी निर्माण लगायत कार्य सकिएकाले आगामी दिनमा थप व्यवस्थित बनाएर गाउँपालिकाको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताउनुभयाे ।

झर्ना वरिपरी राई समुदायको बसोबास रहेको र सो क्षेत्रमा राईहरुको पुजा पाठ पनि गर्दै आइरहेकाले आउँदो वर्ष झर्ना नजिकै मार्ग थान निर्माण गर्ने योजना रहेको छ ।

प्रचार–प्रसार तथा मर्मत संम्भारको अभावमा पर्यटकिय क्षेत्रहरु ओझेलमा परिरहेको र स्थानीय सरकार आएपछि वर्षाैदेखि ओझेलमा परिरहेको पर्यटन विकासको प्रचुर संम्भावना बोकेको झर्नाको निर्माण भएपछि स्थानीयहरुले खुशी भएका छन् ।

उक्त झर्ना जानको लागि मुख्य सडक गुराँसेबाट छथर जोरपाटी रिङरोड नजिकै रहेको छ । छथर जोरपाटी गाउँपालिकाले हरेक बर्ष योजना निर्माण गर्दा कृषि र पर्यटनलाई पहिलो प्राथमिकता दिदै आएको छ ।