Advertisement

युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि जर्मनीको सानदार जित


एजेन्सी । जर्मनीले १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।

यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाए ।

खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरूवाती अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे ।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो । यस्तै रोनाल्डोको यो १ सय ७ औं अन्तर्राष्ट्रिय गोल हो । जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरोकपमा कीर्तिमानी १२ औं गोल हो ।

तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो । ३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको हंगेरी पुछारमा रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement