Advertisement

जिल्ला अस्पताल धनकुटालाई अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्री


सन्तोष रुचाल, धनकुटा । कोरोना संक्रमितको संख्या बढेसँगै देशभरी अक्सिजनको अभाव भइरहेको बेला निर्वतमान प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्री जिल्ला अस्पताल धनकुटालाई हस्तान्तरण गर्नुभभएकाे  छ ।

निवर्तमान सांसद राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको टेकुस्थित स्वास्थ्य सेवा विभागले धनकुटाका लागि १४ प्रकारका सामग्री उपलब्ध गराएको थियो । उक्त स्वास्थ्य सामग्री जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्मालाई सांसद राईले वुधबार बिहान हस्तान्तरण गर्नुभएकाे हाे । उक्त स्वास्थ्य सामग्रीको बजार मूल्य करिब २५ लाख बराबरको रहेको छ ।

नेकपा एमाले धनकुटाका अध्यक्ष समेत रहेका सांसद राईले उक्त स्वास्थ्य सामग्री काठमाडौंबाट गाडीमा लोड गरी आफैले ल्याएर अस्पताललाई हस्तान्तरण गर्नुभएकाे हाे ।

उहाँको पहलमा प्राप्त भएको स्वास्थ्य सामग्रीहरु अन्तरगत अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर १५ थान, कोरोना परीक्षण गर्न प्रयोगशालामा प्रयोग हुने आरटी पीसीआर किट ५ सय थान, स्वाब संकलनमा प्रयोग हुने भीटीएम किट ६ सय थान, एन्टिजेन किट एक सय थान रहेका छन् ।

त्यस्तै पीपीई सेट, अक्सिजन नाप्न प्रयोग गरिने पल्स अक्सिमिटर, सर्जीकल र एन नाइन्टिफाइब मास्क, सेनिटाइजर, ग्लोब्स लगायत स्वास्थ्य सामग्री प्राप्त भएको जिल्ला अस्पताल धनकुटाका डाक्टर पूजन विश्वकर्माले बताउनुभयाे ।

धनकुटामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । धनकुटामा कोरोना संक्रमितको संख्या पाँच सयको हाराहारीमा पुगिसकेको छ ।

संक्रमितको संख्या बढेसँगै धनकुटामा उपचार गर्न आउने कोरोना संक्रमित गम्भीर विरामीको संख्या पनि बढ्दै गएको छ ।

यो महामारीमा प्राप्त भएको स्वास्थ्य सामग्रीले विरामीको उपचारमा सहयोग पुग्ने अस्पतालका डाक्टर विश्वकर्माले बताउनुभयाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement