Advertisement

धनकुटा नगर क्षेत्रका शैक्षिकसंस्था ९ दिनको लागि बन्द

भर्चुअल वा वैकल्पिक सिकाई विधि अपनाउन आग्रह



सन्तोष रुचाल, धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ ।

धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले आजदेखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्यायनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पीसीआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताउनुभयाे ।

उनमा ज्वरो सहित निमोनिया पनि देखिएको छ । उनी अध्यायनरत कलेजमा एक दर्जन भन्दा बढी विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । यसरी विद्यार्थीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स कलेजले सुचना जारी गरी बुधवार नै अर्को सुचना जारी नभएसम्म अनिश्चितकालको लागि कलेज बन्द गरेको छ ।

कलेज बन्द गरेपछि लक्षण देखिएका सम्पूर्ण विद्यार्थीहरुको पिसिआर परिक्षण शुरु गरिएको छ ।

धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिका सिसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले बैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न आह्वान गर्नुभएकाे छ ।

सूचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी भर्चुअल वा वैकल्पिक सिकाई विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुदै आएका परिक्षाहरु भने स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरी संचालन गर्न भनिएको छ ।

धनकुटामा यो सँगै कोरोना संक्रमणको सक्रिय संक्रमितको संख्या २ रहेकाे छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement