Advertisement

धनकुटाको छथर जाेरपाटीका ६ सय ५५ भूमिहीन घर परिवारको तथ्यांक संकलन


सन्तोष रुचाल, धनकुटा । धनकुटाको छथर जाेरपाटी गाँउपालिकाले आफ्नो पालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका ६ सय ५५ घर परिवारको तथ्यांक संकलन गरिएकाे गाँउपालिकाले जनाएकाे छ ।

संकलित तथ्यांक मध्ये भूमिहीन दलित ४ घर परिवार, भूमिहीन ४१ घर परिवार र अव्यवस्थित ६ सय १० घर परिवार रहेका छन् । ती मध्ये सबैभन्दा बढी वडा नं. ६ मा २ सय ६२ घर परिवार, वडा नं. २ मा २ सय ५५ र वडा नं. ३ मा ७९ भूमिहीन तथा अव्यवस्थित घर परिवार रहेका छन् । यस्तै वडा नं. १ मा १० घर परिवार, वडा नं. ४ मा ३४ घर परिवार र वडा नं. ५ मा १४ घर परिवारको लागत संकलन गरिएको छ ।

तथ्यांक संकलनको काम निरन्तर रहने भूमिहीन सम्बन्धि समस्या समाधान आयोग छथर जोरपाटी इकाइका ‘फोकल पर्सन’ नेत्रबहादुर श्रेष्ठले बताउनुभयो ।

लागत संकलन पछि प्रमाण पुगेका शहरी क्षेत्रका भूमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि ४ आना ० पैसा १. ४२ दाम जमिन पाउने छन् ।

त्यस्तै ग्रामीण भूमिहीन दलित तथा सुकुम्बासीहरूले बसोबासका लागि १० आना २ पैसा ३. ०९ दाम जमिन पाउने छन् । कृषि प्रयोजनका लागि ५ रोपनी १४ आना १ पैसा १. ६२ दाम जमिन पाउने छन् भने अव्यवस्थित बसोबास गरेकाहरूले शहरी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्बासी सरह ४ आना ० पैसा १. ४२ दाम जमिन पाउने छन् ।

ग्रामीण क्षेत्रमा बसोबासका लागि १ रोपनी १५ आना १ पैसा ३. २१ दाम र कृषि प्रयोजनका लागि १९ रोपनी १० आना २ पैसा ०. ०७ दाम जमीन प्राप्त गर्ने छन् ।

यसरी जमिन पाउने घर परिवारले आय श्रोतको आधारमा सरकारी मूल्यांकनको ८ देखि २०० प्रतिशतसम्म जमिनको राजश्व तिर्नु पर्ने भूमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष नैनबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement