Advertisement

व्यथामा अल्झिएको दशैंं !


इच्छा गुरुङ । नवरात्रको एक आइतबार बिहानै नेपाल बैंक पुगेकी थिएँ, छिटो पुगे भीड कम होला भनेर जाँदा अलि छिटो नै पुगेछु । मजस्तै अरु ४, ५ जना वृद्धहरू पनि बैंक खुल्नुभन्दा अगावै पुग्नुभएको रहेछ । छेउको पेटीमा बसेर बात मार्दै हुनुहुन्थ्यो । म पनि छेउ लागेर उभिएँ ।

दशैंको मुखमा पेन्सन बुझ्न आउनुभएको थियो उहाँहरू । ‘छोराको काम कोराेनाले खाइदियो रे ..बेकामे भएपछि आफ्नै पेट पाल्न धौ–धौ भाको छ रे, लक डाउनदेखि यता एक रुपैयाँ पठाउन सकेको छैन..’ हरि कँडेल बा दुखेसो पोख्दै हुनुहुन्थ्यो ।

‘सबैलाई उस्तै हो अहिले, मेरो छोराको तरकारी खेती घाटा गइ गो, धन्न यही पेन्सन छ र नूनतेल थेगेको छ…तपाईंको त छोरो विदेशमा छ, अहिले नसके पनि बिस्तारै पठाउला नि, हाम्रो त वेपार घाटाको ऋण केले तिर्नी हो खोई ???…छोरो जग्गा बेचम् बा भन्छ… सकभर जग्गा नबेचम् भनेको, उहिले नि ऋण लाग्यो भनेर ५ कट्ठा सक्यो …सधैं जग्गा बेचेर कहाँ सकिन्छ र… भनेको १ हप्ता भो छोरो बोल्या छैन…।’ अर्का बा को आफ्नै पिरलो थियो । उहाँको नाम बन्धु लम्साल ।

‘जाबो कागजको खोस्टो न हो… पैसा नाम दिएपछि त्यही कागजको खोस्टोको पछि लाग्दा लाग्दै आफ्ना पनि बिरानो भएका छन् बाबै…।’ ती बा निधारमा आएको पसिना पुच्छ्दै गरेको देखेँ, मेरो मोबाइल भाइब्रेट भएपछि मेरो ध्यान फोनतिर मोडियो ।

‘ह्यापी दशैं इच्छा जी’ मेसेन्जरमा दशैंको शुभकाना आएको थियो ।

इच्छा गुरुङ

‘धन्यवाद ।।। तपाईं र तपाईंको परिवारलाई पनि शुभकामना छ है…, अनि कस्तो छ त त्यता ??? यस पटकको दशैं कस्तो हुँदैछ…?’

‘परदेशीलाई साह्रै नरमाइलो…। चाडपर्वमा गाउँघर सम्झेर मन पोल्छ, त्यहीमाथि नि लक डाउनमा आमा बिरामी हुनुभयो, यस्तो बेला चाहेर पनि आउन सकिन, छोरा र श्रीमतीसँगै छन् । तर पनि चाडमा घर र अरु परिवारको याद साह्रै आउँदो रहेछ । ’

‘काम त चलिरहेको छ नि ?’

‘कोरोना सुरू भएपछि लक डाउनको कारण केही महिना घरमै बसियो, त्यसबखत सरकारले दिएको भत्ताले भरथेग भयो, अहिले त काम गर्न थालेको छु, दशैंमा बुढी भएकी आमाको हातको टीका र आर्शिवाद लगाउन कसलाई मन लाग्दैन होला र ?, तर भनेको बेला फर्कन नपाइने यस्तै त हो परदेशी जीवन…।’

अमेरिकामा बसोबास गरिरहेका साथी वासु भट्टराईसँगको छोटो बातचित थियो यो ।

केही समय अगाडि दुबईमा बसाेबास गरिरहेका भाइ किशोर पाठकसँग कुराकानी भएको थियो । लक डाउनको बीचमा उनको बच्चा जन्मियो, छोरा अहिले ४ महिनाको हाँस्ने–खेल्ने भइसक्यो । खेलाऔं–खेलाऔं लाग्ने बेलाको सन्तान र साथमा श्रीमती हुँदा पनि चाडपर्व आउँदा मन आफ्नै घर नेपाल पुगिसकेको हुन्छ भन्दै थिए ।

छोरा चार घण्टा डे केयरमा रमाउँछ बाँकी समय बुवा–आमाले पालो–पालो स्याहारेर हुर्काउँदै हुनुहुन्छ ।

यदि नेपालमा हजुरबा–आमासँग सँगै बस्न पाएको भए कति खुशी र आनन्द हुँदो हो नि । तर विदेशिएपछि ती सबै कुरा त कल्पनामा रमाउने संसारजस्तै मात्र भएको छ ।

गायिका आगन्तुक खरेल हाल श्रीमान र छोरीको साथमा दुबईमा बसोबास गर्नुहुन्छ । ‘धेरै वर्ष भयो दशैं परदेशमा बितेको तर पनि न्यास्रो त उस्तै छ…।’ आमा बुवा अमेरिका, सासु ससुरा नेपालमा रहेकाले भेटघाट पातलै हुने गरेको छ, तर पनि प्रत्येक २ महिनामा नेपाल आउने जाने गर्नुहुने खरेल यसपटक कोरोनाका कारण नेपाल आउन पाउनुभएको छैन, समय परिस्थिति हेरेर चित्त बुझाउनुपरेको छ ।

‘सासु आमा बिरामी हुनुहुन्छ भनेर घरबाट फोन आएपछि दिन रातै एकजस्तो लाग्ने…।

काममा त गएको छु तर मनमा अनेक कुरा चल्थ्यो…। काेरोनाको जगजगी छ कतै केही त हुने त होइन…??? पापी मनले काटीमारी सक्थ्यो । मनमा अनेक तर्कना चल्दा काम बिग्रिएर गाली खाइएला कि भन्ने डर…फेरि यहाँ सेमी लक डाउन छ, घर फर्कनको लागि, नेपालबाट यहाँको दूतावासमा सिफारीस पठाउनुपर्ने रहेछ सजिलै टिकट काटेर जान पाइने हो र…?’ बेलायतमा बस्ने अन्जली गुरुङको भनाइ हो यो । उहाँको अनुभवमा विदेशको दशैं त औपचारिकता मात्र भएको छ, नेपाल छोडेदेखि दशैं रमाइलो भएकै छैन ।

‘दशैं खर्च भनेर छोरीले अष्ट्रेलियाबाट खर्च पठाई दिएकी छे, छोरोले अलिअघि बिरामी हुँदा पठाइदिएको थियो ।, पैसा मात्र भएर के गर्नु र…? छोराछोरीलाई दशैंमा टीका लगाउन नपाएको, भेट्न नपाएको ६, ७ वर्ष भइसक्यो…। पैसाले खुशी दिने होइन रहेछ त्यही पैसा नभई पनि नहुने…। यो पैसा कसले बनायो होला…?

आफ्नै सन्तानसँग छुट्टिएर बस्नुपर्ने ।’ फलफूल पसलमा भेटिएका रमाकान्त शर्मा बाको गुनासो थियो यो । उहाँका छोरा अमेरिका छन्, छोरी अष्ट्रेलियामा छिन् । उमेरले ६० वर्ष पुगेका शर्मा बा दूध र फलफूल किन्ने ठाउँमा बेला–बेला भेटिनुहुन्छ । श्रीमती र आफू गरेर मात्र २ जना सिङ्गो घरमा बस्नुहुन्छ । छोरा बुहारी, छोरी नाति नातिनीसँग बेलाबेला भिडियो कलमा कुरा गरेर चित्त बुझाउने गर्नुहुन्छ उहाँहरू ।

विदेशको कुरामा मात्र होइन स्वदेशमै रहेर पनि आफन्तबाट टाढिएर दशैं मनाउनुपर्ने बाध्यता छ धेरैलाई । संचारकर्मी ताथ फिल्म निर्देशक संगीता श्रेष्ठ हरेक वर्ष दशैं मनाउन काठमाडौंबाट विराटनागर माइती र धरान घर पुग्नुहुन्थ्यो । तर यस पटक काठमाडाैंमा खुम्चिएर दशैं मनाउन बाध्य भएको बताउनुहुन्छ ।

‘कोरोनाका कारण आफू र आफ्ना सबै परिवारको स्वास्थ्यका लागि खल्लो भए पनि यर्थाथलाई स्वीकार्नुपर्ने बाध्यता छ । तर सामाजिक सञ्जालले धेरै सहज बनाइदिएको छ…। दैनिकजसो भिडियो कल गरेर बाआमा, सासुससुरा तथा आफन्तसँग कुराकानी हुने हुँदा मनमा न्यास्रो केही कम हुँदो रहेछ…।’

काठमाडौंमा रहेर पनि धनगढीकी प्रीति स्वाँरले आमा बाको हातको टीका नलगाएको ३ वर्ष भइसक्यो । ‘विदेश बसेकोजस्तै भयो, काठमाडौंमै भएर पनि । कति सारै न्यास्रो लाग्छ…कुरै नगर्नुस् । फोनमा बोलेर कहाँ भेटेकोजस्तो हुन्छ र…??? त्यहीमाथि दशैंजस्तो चाडमा कोठामा खुम्चिनुपर्दा मन कति रुन्छ, भोग्नेलाई थाहा हुन्छ…।’

विवाह भएदेखि हरेक वर्ष झापा घरमा टीका लगाउन जाने गरेको तर यस वर्ष पहिलो पटक कोरोनाको कारण बाहिर हिँड्न असहज भएको हुँदा घर जान नमिलेको बताउनुहुन्छ प्रीती ।

कोभिड–१९ को कारण प्रियजन गुमाएका परिवारले भोगिरहेको सामाजिक व्यवहार देख्दा झनै मानवताप्रति नै प्रश्न चिन्ह उठाउन मन लाग्छ । मेरो घरदेखि अली पर एक छिमेकी अंकलको कोभिड–१९ को कारण मृत्यु भएपछि दशैंको मुखमा उहाँको घरमा शून्यता व्याप्त छ । उहाँको तस्वीरमा एक थुङ्गा फूल चढाइएको छ, घरमा किरियाकर्ममा बसेकाहरू मात्र छन् । घरकै अन्य सदस्य मात्र । न अरु कोही आउन सक्छन्, वरपरका बाटो हिँड्नेहरू यो घरको मान्छे त कोरोना लागेर मेरेको रे नि, भनेर कानेखुशी गर्छन् ।

मानौं कोरोना लाग्नु महापाप नै हो…। यस्तो असहज समयमा हाम्रो लागि सबैभन्दा अघि रहेर कोरोनासँग जुधिरहेका स्वास्थ्यकर्मी, कर्मचारी सबैका परिवार छन् । दशैं उहाँहरूलाई पनि आउँछ । परिवारसँग बसेर रमाइलो गर्न उहाँहरूलाई मन छैन होला र… ? महिनौदेखि घरपरिवारबाट टाढा रहेर रातदिन हाम्रै लागि सेवारत छन् तर उहाँहरूप्रति पटक–पटक समाजमा गरिने दुर्व्यवहारका घटनाहरू देख्दा साँच्चै हामीमा मानवताको खडेरी परेको भान हुन्छ ।

कोभिड–१९ को कारण मृत्यु भएकाहरूको परिवार र हाम्रो लागि आफ्ना सबै खुशीहरूको बलि दिएर खट्ने स्वास्थ्यकर्मीहरू, संलग्न सबै तहका कर्मचारीहरू र उहाँहरूको परिवारलाई भौतिक उपस्थिति जनाएर साथ दिन नसके पनि नैतिक र भावनात्मक सहयोग दिन सक्नुपर्छ र यो हाम्रो मानवीय दायित्व हो भनेर बुझ्न सक्नुपर्छ ।

वर्तमान परिप्रेक्ष्यका केही उदाहरणका रूपमा उल्लेखित प्रसङ्गहरूबाट स्पष्ट बुझ्न सकिन्छ, हाम्रोजस्तो विकासोन्मुख देशका नागरिकहरूले भोगिरहेका सामाजिक, व्यावहारिक, मनोवैज्ञानिक असर कस्तो छ, त्यो महसुस गर्न सक्छौं ।

त्यससँगै सांस्कृतिक, सामाजिक पारिवारिक पक्षसँग हाम्रो संवेदनशिलता यसरी जोडिएको छ कि, विविध कारणले आफन्तसँग टाढिएर बसेकाहरूलाई दशैं, मालश्री धून, लिङ्गे पिङको चचहुईंईंर्ईं, घरको आँगनमा लहरै बसेर लगाइने टीकाको कुरा गर्नासाथ आँखा भरिएर आउँछन् ।

जहाँ जता भए पनि मन उडेर उही गाउँघरमै पुग्छन् । अरु बेला आफ्नै काममा भुले तापनि, चाड पर्वमा बा–आमाले सन्तान, सन्तानले बा–आमा सम्झिएर भक्कानिन्छन् ।

स्वदेशमा होस् या विदेशमा, सडकमा होस् या महलमा या आस्पतालका शय्यामा सबै आ-आफ्नै नयाँ पुराना याद र परिस्थितिजन्य व्यथामा अल्झिएर बित्नेछ फेरि पनि यस वर्षको दशैं ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement