Advertisement

‘दलित’ शब्दको सही अर्थलाइ शब्दकोषमा नसमेटिनु राज्यको बेइमानी हो

एक्काइसौं शताब्दीमा आइपुग्दा दलित शब्दलाई विभिन्न कोणबाट राजनीतिक एजेन्डामा समाहित गरियो



उद्दव विश्वकर्मा, दोलखा । दलित शब्दः भाषा, पेसा र जातलाइ एउटै परिचयमा सम्बोधन गर्नको निम्ति स्थापित शब्द हो । आजको एक्काइसौं शताब्दीमा आइपुग्दा दलित शब्दलाई विभिन्न कोणबाट राजनीतिक एजेन्डामा समाहित गर्ने प्रवृत्तिले शब्दनै मासिने खेलको सुरूवात भएको आङ्कलन गर्न सकिन्छ ।

आज समावेशीताको नाउँमा कोटामा मात्र सीमित गराउने परिपाटीले खुल्ला राजनीतिक स्वतन्त्रतामाथि नै कुन्ठा उत्पन्न गराएको अवस्था छ ।
आज हाम्रो समाजमा दलित भन्नासाथ छुत र अछुतको दृष्टिले हेर्ने प्रचलन छः पानी चल र अचल । दलित हुँदैमा पानी अचल हुने उच्च जाति हुँदैमा पानी चल हुने यस प्रवृत्तिले विज्ञान र वैज्ञानिकतामा कुनै आधार दिँदैन ।

दलित भन्नासाथ दलिएको हेपिएको

आज दलित भन्नासाथ दलिएको हेपिएको छियाछिया पारिएको अर्थ लगाउने प्रचलनले शिल्पी लेख्ने प्रचलनको पनि बिस्तारै विकास हुँदै गएको छ यसले दलितको खास अर्थ दिदैन शिल्पकार भन्ने नेवार जातिभित्र शिल्पकार एउटा जातै छ ।

उसले आज आफूलाई अरनिको सन्तति भनेर दाबी गर्छ । शिल्पकार कहिल्यै पानी चल र अचल भएन र छैन ।

सुनचाँदी व्यवसाय गर्नु, लुगा सिलाउनु, मादल बनाउनु काम हो तर दलित शब्दचाहिँ पहिचान हो । परियार (दमाई) लुगा सिलाउने काम र पेशा हो तर पहिचान होइन यो समुदायको पहिचान सङ्गीत र सर्जकसँग जोडिएको छ । विश्वकर्मा (कामी) यो सम्प्रदायको सुनचाँदी व्यवसाय काम र पेसा हो तर फलामको कलात्मक हातहतियार बनाउने पहिचान हो ।

गन्धर्व जातिको पहिचान

गन्धर्व जातिको पहिचान पनि गाउने र बजाउनेसँगै जोडिएको छ । यसले गर्दा आज दलितभित्रको जात विशेषलाई प्राथमिकता दिनुभन्दा पनि कुन शब्दले सबैको प्रतिनिधित्व गर्छ र समेट्न सजिलो हुन्छ भन्ने विषयको खोज गर्न जरुरी देखिन्छ ।

आज नेपाली शब्दकोषले पनि मानिसमा छुत र अछुतलाई बढवा दिन ठूलो मद्दत पुर्याएको छ । जनजाति शब्द चालचलन भाषामा अति लोकप्रिय छ तर नेपाली शब्दकोषले जनजाति भन्नाले जङ्गल फोरेर बस्ती बसाल्ने अर्थ दिएको छ ।

आजका दलितका पुर्खा अछुत बनाइनुभन्दा पहिले कोही राजा थिए होलान्, कोही ऋषि थिए होलान्, कोही समाजका अत्यन्तै प्रतिष्ठित मान्छे थिए होलान्, या समाजका नकारात्मक पात्र थिए होलान् ।

सङ्घर्ष गर्न चालिएका कदम र सङ्घर्ष गर्दा निर्माण भएको परिचय

त्यसले उनीहरूलाई अछुत बनाइसकेपछि खास अर्थ राख्दैन । खास अर्थ त पानी अचल बनाइसकेपछि त्यसका विरुद्ध सङ्घर्ष गर्न चालिएका कदम र सङ्घर्ष गर्दा निर्माण भएको परिचयले नै वर्तमानमा आवश्यक अर्थ राख्छ ।

त्यसकारण चार हजार वर्षअगाडि दलितका पुर्खा कस्ता थिए, उनीहरूलाई के भनिन्थ्यो भन्ने कुरा इतिहास अध्ययनका निम्ति त काम लाग्छ, तर त्यसले आजको सङ्घर्ष अगाडि बढाउन काम दिँदैन । शास्त्रमा विश्वकर्मा सम्मानित थिए भन्दैमा आजको विश्वकर्मा थर राख्ने कामीलाई स्वतः सम्मान प्राप्त हुँदैन, बरु उसले आफ्नो मुक्तिका निम्ति आजकै सन्दर्भमा आजकै परिचयअनुसार सङ्घर्ष गर्नुपर्ने हुन्छ ।

आजको सन्दर्भमा सबै भाषी र सबै क्षेत्रमा विभक्त दलितलाई एकत्रित गराउन दलित शब्द नै उपयुक्त भइसकेको छ ।

शब्दकोशमा पुरानै अर्थ

शब्दकोशमा पुरानै अर्थ मात्रै राखिरहनु र जनजाति आन्दोलनले निर्माण गरेको जनजाति शब्दको नयाँ गौरवमय अर्थ शब्दकोशमा नसमेट्नु शब्दकोश निर्माता र राज्यको बेइमानी हो ।

आफ्नो बारेमा आफ्नो आन्दोलनले निर्माण गरेको नयाँ गौरवमय शब्दको अर्थलाई शब्दकोशमा समावेश गर्नका निम्ति जनजाति आन्दोलनले पहल नगर्नु जनजाति आन्दोलनको कमजोरी पनि हो ।

तर, जनजाति शब्दको अर्थ पुरानो शब्दकोशमा बताएजस्तोचाहिँ आज कदापि होइन । ठीक त्यसरी नै, शब्दकोशमा दलित शब्दको अर्थ जे लेखिएको भए पनि दक्षिण एशियाको दलित आन्दोलनले दलित शब्दको नयाँ र गौरवमय अर्थ निर्माण गरिसकेको छ ।

यो नयाँ र गौरवमय अर्थलाई शब्दकोशमा नसमेट्नु शब्दकोश निर्माता र राज्यको बेइमानी हो । साथै, आफ्नो आन्दोलनले निर्माण गरेको दलित शब्दको नयाँ अर्थलाई शब्दकोशमा समावेश गराउन दलित आन्दोलनले पहल गर्न नसक्नु आन्दोलनको कमजोरी मात्र हो । अब निर्माण हुने शब्दकोशमा दलित शब्दको नयाँ गौरवमय अर्थ लेखिनुपर्छ ।

वि.सं. २०२४ सालभन्दा अगाडि नेपालमा दलित भनिंदैनथ्यो

थुप्रै युवालाई लाग्ने गरेको छ— दलित भनिरहेसम्म त दलित अवस्था रहिरहने भयो । त्यसैले दलित शब्द छोड्नुपर्छ कि वि.सं. २०२४ सालभन्दा अगाडि नेपालमा दलित भनिंदैनथ्यो ।

त्यसले के जनाउँछ ? दलितहरूको जीवन सम्मानित थियो ? उनीहरूका मुद्दा समाधान हुने दिशामा थिए ? पक्कै थिएनन् । दलित भनेर दलित अवस्था बनेको होइन, रहेको होइन । त्यसको सट्टा दलित अवस्था रहिरहने र पुनरुत्पादन भइरहने आर्थिक, राजनीतिक र सांस्कृतिक परिपाटी जीवित भएकाले दलित अवस्था रहिरहेको हो ।

जस्तो कि, विश्वकर्मा दलितले लेख्छन्, भारतमा एकथरी गैरदलितले लेख्छन् । नेपालमा विश्वकर्मा लेख्नेलाई भेदभाव गरिन्छ, त्यही शब्द लेख्नेलाई भारतमा गरिँदैन तर विश्वकर्मालाई पूजा गरिन्छ । यसको अर्थ हो— शब्द दोषी होइन, बरु त्यो शब्दलाई समाजले कसरी बुझ्ने संस्कृति/विचार छ, त्यसको दोष हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement