दक्षिणकाली नगरपालिकाले ल्यायाे ७५ करोड ३२ लाखकाे बजेट

पढ्न लाग्ने समय : मिनेट

दक्षिणकाली नगरपालिकाले आगामी बर्षका लागि कुल ७५ करोड ३२ लाख ९७ हजार ७ सय ४३ रुपैयाँको बजेट ल्याएको छ ।

बुधबार नगर प्रमुख मोहन बस्नेतको अध्यक्षतामा सुरु भएको नगरपालिकाको पाँचौं नगर सभामा आर्थिक बर्ष २०७७/०७८ को लागि कुल बजेट ७५ करोड ३२ लाख ९७ हजार ७ सय ४३ रुपैयाँ अनुमान गरिएको सभामा प्रस्तुत गरिएको हो ।

नगरपालिकाले चालू तर्फ २२ करोड ८९ लाख ५९ हजार ३१३ रुपैयाँ अनुमानित वजेट प्रस्तुत गरेको छ । यो कुल बजेटको ३०.३९ प्रतिशत हुन आउँछ । यस्तै, पुँजीगत तर्फ ५२ करोड ४३ लाख ३८ हजार ४३६ रुपैयाँ अनुमान गरेको बजेट नगर उप–प्रमुख बसन्ती डंगोल तामाङले सभामा प्रस्तुत गर्नुभएको हो । उक्त रकम कुल बजेटको ६९.६१ प्रतिशत हो ।

यस्तै सभामा बजेटमा समावेश नुहने तर नीति तर कार्यक्रममा रहेको सामाजिक सुरक्षा तर्फको ५ करोड ७७ लाख २५ हजार रुपैयाँ पेश भएको छ । यस्तै, गरिब साना विश्वेश्वर परियोेजना अन्तर्गत ५ लाख ६८ हजार पेश गरिएको छ ।

सडक बोर्डतर्फ ३७ लाख र स्थानीय शासन तथा सामुदायिक विकासतर्फ ४ लाख ७७ हजार ८७० रुपैयाँ सभामा पेश भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिकाका प्रवक्ता अम्रिका बलामीले बताउनुभयो । यो सँगै, शिक्षा, कृषि, वन तथा वातावरण साथै सरसफाई, युवा स्वरोजगार, महिला तथा बालबालिकाको लागि बजेट केन्द्रित छ ।

आ.व २०७७/७८ को बजेटले विभिन्न कारणले विदेशबाट फर्किएका यूवाहरुलाई विशेष अवसर प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

कोरोना संकट समाधानको लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेको नगरले यो पटक पूर्वाधार विकासमामा कम बजेट छुट्याएको जनाएको छ । पुर्वाधार बिकासतर्फ ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यद्यपि, साना वडाहरुलाई दिँदै आएको ५५ लाख र ठुला वडाहरुलाई १ करोड १५ लाखको सिलिङ यथावत राखिएको छ ।

कर बढेन, समग्रमा कर छुट

कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ भने समग्रमा करमा छुट गरिएकाे छ ।

नागरिकता वितरण, मृत्यु दर्ता लगायतका सेवा वापत नगरले लिँदै आएको कर नलिने र नगरले भाडामा दिँदै आएको सटर भाडा २५ प्रतिशत मिनाह गर्ने, व्यवसायीलाई २५ प्रतिशत कर छुट दिने नगरले निर्णय गरेको छ ।

नगरले काेराेनाका कारण उत्पादनमा कमी आएकाे भन्दै कृषकलाई मालपाेत दस्तुरमा छुट दिएकाे छ

सभामा आ.व २०७७/७८ को आर्थिक ऐन प्रस्तुत गरिएको छ भने विनियोजित ऐन भने छलफलको क्रममा रहेको प्रवक्ता बलामीले बताउनुभयो ।

प्रवक्ता बलामीका अनुसार आपसी दलीय समझदारीको लागि भन्दै ४ दिनको लागि सभा स्थगित गरिएको छ ।

*सच्च्याइएको