Advertisiment

दक्षिणकाली नगरपालिकामा लक डाउनः कोरोनाको जोखिम बढेको निष्कर्ष


काठमाडौं । दक्षिणकाली नगरपालिकामा लक डाउन घोषणा भएको छ । शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बैठकले साउन ३१ गते भोलि(शनिबार) बिहान १ बजेदेखि लागू हुने गरी दक्षिणकाली नगर क्षेत्रमा लक डाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै भदौ ८ गते सम्म लक डाउन गर्ने जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस संक्रमणको जोखिम दिनानुदिन बढिरहेको पाइएकाले साउन ३१ गते बिहान १ बजेदेखि लागू हुने गरेर भदौ ८ गतेसम्मका लागि  लक डाउन घोषणा गरिएको छ ।’

नगरपालिकाले अति आवश्यक दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने पसलहरू मात्र बिहान ९ बजेसम्म खोल्न पाउने जनाएको छ ।

ती व्यवसायहरू तोकिएका मापदण्डहरू पूर्ण रूपले पालना गर्ने/गराउने व्यवस्था मिलाएर मात्र संचालन गर्न पाउने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा हालसम्म २ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिणकाली नगरपालिका अन्तर्गत पर्ने फर्पिङ नाकाबाट उपत्यका भित्रिने केही व्यक्तिहरूमा समेत कोरोना पुष्टि भएको थियो । यसकारण नगरपालिका क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको मानिएको छ ।

नगरपालिकाको विज्ञप्ति:

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment