Advertisement

दुबईमा पहिलाे पटक साइबरटेक ग्लाेबल सम्मेलन, ५० देशका प्रतिनिधिमण्डल र ५२ कम्पनीले भाग लिने

युरोपमा नाटो सेनाको पूर्व सर्वोच्च कमाण्डर जनरल वेस्ले क्लार्क र खुफिया एजेन्सी(सीआईए)का पूर्व निर्देशक जनरल डेभिड पेट्रियस समेतकाे उपस्थिति


प्रकाश विशुन्के, दुबई । संयुक्त अरब इमिरेट्स(युएई) मा पहिलो पटक साइबर टेक ग्लोबल कार्यक्रमको आयोजना गरिएको छ ।

दुबईस्थित ग्रान्ड हायातमा सोमबार(भोलि) बाट सुरू हुने साइबर उद्योगसम्बन्धि अन्तर्राष्ट्रिय प्रदर्शनी र सम्मेलन अमेरिका बाहिर आयोजित सबैभन्दा ठूलो सेक्युरिटी नेटवर्किङ सम्मेलनको ८ औं संस्करण हो ।

ऐतिहासिक मानिएको दुबई इलेक्ट्रोनिक सुरक्षा केन्द्र (डिइएससी)द्वारा आयोजित यस विश्व सम्मेलनमा दर्जनौं देशका सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि, सुचना तथा प्रविधि(आइटी) सम्बन्धी जानकार व्यक्ति र सञ्चारकर्मीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।

उक्त ग्लोबल इन–पर्सन सम्मेलनलाई अन्तर्राष्ट्रिय ठूला–ठूला सभा सम्मेलनहरू सुरक्षित रूपमा पुनः खोल्ने दुबई शहरको सफलताको मार्गको रुपमा लिइएको छ ।

कार्यक्रमले प्रविधि र साइबरसुरक्षा नवीनताका लागि अन्तर्राष्ट्रिय हबको रूपमा दुबईको स्थितिलाई पनि सुदृढ गर्दछ।

दुबई साइबर सुरक्षा रणनीति युएईका उप–राष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले साईबरस्पेस र खतराहरूको विरूद्ध एकीकृत सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ इमिरेटमा सुरू गरेका पहलहरू मध्ये एक थियो । उक्त रणनीतिले साइबरस्पेसमा नवीनता र युएईको विकास र आर्थिक समृद्धिमा सहयोग पुग्ने बताइएको छ ।

साइबरटेकद्वारा आयोजना गरिएको यस कार्यक्रमले विश्वभरका उच्च स्तरका सरोकारवालाहरू, स्टार्टअपहरू, सरकारी निकायहरू र संगठनहरूबीच नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्नका साथै साइबरस्पेसमा विकराल चुनौतीहरूको बारेमा छलफल हुनेछ । कुल ५० देशका प्रतिनिधिमण्डल र ५२ कम्पनीहरूले यस कार्यक्रममा भाग लिने छन्।

दुबई इलेक्ट्रोनिक सुरक्षा केन्द्रका महानिर्देशक युसुफ हमद अलशायबानीले भने, “साइबरटेक ग्लोबल दुबईको होस्टिंगमार्फत हामी डिजिटल क्रान्तिलाई अँगाल्ने सम्बन्धमा दुबईको सफल अनुभूतिपूर्ण अनुभवलाई उजागर गर्ने प्रयास गर्छौं। दुबई सरकारले डिजिटल रूपान्तरणको क्रममा ठूलठूला कदम चालेको छ र आफ्नो सहयोगलाई निरन्तरता दिन र क्षेत्रीय र विश्वव्यापी दुवै देश र संस्थाहरूसँग आफ्नो विशेषज्ञता बाँडफाँट गर्न खोजेको छ।”

उनले थपे, “यो सम्मेलन विश्वव्यापी महामारीबाट निको हुन थालेपछि आएको छ र यो चुनौतीपूर्ण अवधिले डिजिटल टेक्नोलोजीले हाम्रो जीवनमा काम गर्ने भूमिकालाई उजागर गरेको छ ।“

विभिन्न देशका अग्रणी व्यक्तित्व र विज्ञहरुको समेत उपस्थिति

साइबरटेक ग्लोबलका संस्थापक अमीर र्यापोर्टले भने, “हामी पहिलो पटक गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी) मा साइबरटेक ग्लोबलको आयोजना गर्न पाउँदा एकदमै उत्साहित छौं र दुबई इलेक्ट्रोनिक सुरक्षा केन्द्रको साथ स्थानीय र अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग मिलेर खुसी छौं । हामी विश्वस्त छौं कि दुबई साइबर डोमेनको विकासको साथसाथै आउने नयाँ खतराहरू र अवसरहरूलाई सम्बोधन गर्ने यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि एक आदर्श केन्द्र हो। ”

सम्मेलनमा विभिन्न देशका अग्रणी व्यक्तित्व र विज्ञहरुको समेत उपस्थिति रहनेछ । जसमा इजरायल नेशनल साइबर डाइरेक्टरेटका महानिर्देशक यिगल उन्ना, युरोपमा नाटो सेनाको पूर्व सर्वोच्च कमाण्डर जनरल वेस्ले क्लार्क र खुफिया एजेन्सी(सीआईए)का पूर्व निर्देशक जनरल डेभिड पेट्रियस लगायत रहेका छन् ।

साइबरटेक ग्लोबल दुबईले वित्त तथा बीमा, मोबाइल र सञ्चार, स्वास्थ्य उद्योग, स्मार्ट गतिशीलता जस्ता विभिन्न क्षेत्रहरूमा आर्टिफिशियल इन्टेलिजेन्स (एआई), उन्नत आईओटी, बिग डाटा, क्लाउड र ब्लकचेनका बारे विस्तृत रुपमा समेट्ने प्रयास गरेको छ ।

उक्त कार्यक्रममा कोरोना महामारीपछिको साइबरसुरक्षा र डिजिटल स्वास्थ्य क्षेत्र प्रणाली साथै देशको रणनीतिमा महामारीको प्रभावको बारेमा छलफल गर्न एउटा छुट्टै सत्र सञ्चालन गरिनेछ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement