Advertisement

वडाध्यक्षमा निर्वाचित शोवित निरौलालाई ओली निकट एमालेद्वारा साधारण सदस्य नरहनेगरी कारबाही

धनकुटाको पाख्रीबास नगरपालिका–४ को वडाध्यक्षमा निर्वाचित शोवित निरौलालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ


सन्तोष रुचाल, धनकुटा । नेकपा एमालेको तर्फबाट धनकुटाको पाख्रीबास नगरपालिका–४ को वडाध्यक्षमा निर्वाचित शोवित निरौलालाई नगरसभा तोडफोडको विषयलाई लिएर ओली निकट एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

एमाले पाख्रीबास नगर कमिटीेले पाख्रीबासमा आज विहान पत्रकार सम्मेलन गरी नगर कमिटी सदस्य समेत रहेका वडाध्यक्ष निरौलालाई कारबाही गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा ओल निकट एमाले पाख्रीबास नगर कमिटी अध्यक्ष शान्तिराम गौतमले वडाध्यक्ष निरौलालाई कारबाही गरिएको जानकारी दिदै उनको वडाध्यक्ष पद खारेजीको प्रकृया थालिएको बताउनुभयो ।

एमालेबाट निर्वाचित भएका वडाध्यक्षले काँग्रेस लगायतका अन्य पार्टीसँग मिलेर आफ्नै स्थानीय सरकारविरुद्ध हुलदङ्गा र तोडफोड गर्नु पार्टीको अनुसाशन विपरित भएकाले उहाँलाई कारवाही गरिएको नगर कमिटी अध्यक्ष गौतमले भन्नुभयो ।

वडाध्यक्ष निरौलालाई पार्टीबाट निष्कासन गरेपछि ओली निकट एमालेले अब उहाँको पद खारेजीका लागि निर्वाचन आयोगमा पनि जानकारी गराउने भएको छ ।

वडाध्यक्ष निरौलाकै अगुवाईमा अन्य राजनीतिक दलहरूसँग मिलेर नगरसभा तोडफोड गरिएको एमालेको आरोप छ । गत बिहिबार आयोजित पाख्रीबास नगरपालिकाको आठौं नगरसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले हुलदङ्गा र तोडफोड गरेका थिए । तोडफोडबाट नगरपालिका भवनको आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सीमा क्षति पुगेको छ ।

एमालेबाट वडाध्यक्षमा निर्वाचित निरौला पार्टी केन्द्रमा विवाद चर्किएपछि अहिले उनी एमाले नेता माधव नेपाल पक्षमा उभिनुभएको छ । तर, पाख्रीबासका अन्य जनप्रतिनिधि भने केपी ओली पक्षमा हुनुहुन्छ । राजनीतिक पूर्वाग्रह राखी बजेटको सिलिङ्ग तोक्ने क्रममा विभेद गरिएको भन्दै वडाध्यक्ष निरौलाकै अगुवाईमा विरोध भईरहेको बेला हुलदङ्गा र तोडफोड भएको थियो ।

विरोध जनाउने क्रममा एक वडासदस्यले स्थानीय युवामाथि हात उठाएकाले भीड अनियन्त्रित भएर घटना भएको वडाध्यक्ष निरौलाले बताउनुभएको छ । तर आरोपित वडा सदस्यले भने यो कुरा स्वीकार गर्नुभएको छैन । उहाँले आफूले कसैमाथि पनि हात नउठाएको दावी गर्नुभएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement