Advertisement

स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनालाई


एजेन्सी । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो । ६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ ।

दुई साता अघि सन् २०१९/२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement