Advertisiment

वृहत अनलाइन गजल प्रतियोगितामा चिरन्जीवि सिग्देल प्रथम


सन्तोष रुचाल, धनकुटा । सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (यूएसए) को संयुक्त आयोजनामा भदौ २४ गते बुधबार आयोजित वृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवि सिग्देल प्रथम हुनुभएको छ ।

प्रतियोगितामा बारा जिल्लाकी सरू बस्नेत द्वितीय, झापाका हरि पराजुली तृतीय घोषित हुनुभएको छ । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सूर्य चापागाईले प्राप्त गर्नुभएको छ ।

मोतिराम जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु पोखरेल र टीका आत्रेय रहनुभएको थियो ।

नजिताको घोषणा गर्दै निर्णायक समितिका संयोजक अधिकारीले पछिल्लो समयमा गजलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । नजिता सार्वजनिक कार्यक्रममा राईटर ईन्टरनेशनल युएसएका अध्यक्ष अग्रज साहित्यकार गीतकार ज्ञानेन्द्र गदालले शुभकामना तथा आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा चर्चित गायक कुवेर राई, साहित्यकार डीपी परिश्रमी लगायतले अनलाईन मार्पmतै प्रस्तुति दिनुभएको थियो । प्रतियोगितामा नेपाल, अमेरिका, भारत लगायतका गजलकारहरूको सहभागिता थियो । विजेताले नगदसहित जनही दुई हजार मूल्य बराबरको साहित्यिक पुस्तक र प्रमाण–पत्र प्रदान गरिएको आयोजक संस्था सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताउनुभयो ।

पुस्तक “हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान भरतपुर”ले उपलब्ध गराएको छ । आयोजक दुवै संस्थाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको श्रद्धाञ्जली स्वरूप कविता वाचन र गत भानु जयन्तीमा पनि रामायण वाचन प्रतियोगिता समेत आयोजना गरेको राईटर ईन्टरनेशनल (यूएसए) उपाध्यक्ष राजेन्द्र गुरागाईले बताउनुभयो ।

यसैगरी आगामी कात्तिक २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा पनि वृहत कविता प्रतियोगिता आयोजना गरिने जनाईएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment