Advertisement

प्रधानमन्त्री राष्ट्रको ढुकुटीबाट आमसभा गरी उखान टुक्का गर्नै व्यस्त !


कलम क्रान्ति । पाँच वर्षको लागि जनादेश दिएर पठाएका जनता अहिले दोधार र मर्कामा परेका छन् । देशको विषम परिस्थिति अब केही समयको लागि कम हुने भयो भनी आशामुखी जनतालाई आँखामा छारो हाली ज्वालामुखीको रूप देखाउन सफल, फेसबुक वालका राष्ट्र नायकहरू, जसलाई प्रबुद्ध जनताले राष्ट्र नायक होइन, राष्ट्र नालायकहरू भनी चिनिसकेका छन् ।

जनताका छोराछोरीहरूले रगत पसिना बगाएर ल्याएको पैसाको कर, व्यापारी व्यवसायी अनि देशको सेवा गर्न जन्मिएका संघ/संस्थाहरूले तिरेको कर, खेतबारीको कर, साना–साना झुपडीहरूको कर इत्यादिको दुरूपयोग गरी भ्रष्टाचारलाई मौलाउन दिने, समृद्ध नेपालको सपना देखाई आसेपासेलाई जागीर खुवाउन, बिरामी छु भनी सहानुभूति बटुल्दै खबरदार गर्ने सबै निकाय र आफूलाई बोकेर प्रधानमन्त्री बनाउने पार्टीलाई फुटाउने रण्नीति बनाई, गलत सल्लाहकारहरूको सल्लाहमा देशलाई खोक्रो बनाउन ठूलो भूमिका खेले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ।

कामले होइन, बोलीले, कानुनले होइन गोलीले आफ्नो छबी देखाउन हजारौं दादागिरीको समुह निर्माण गरी कति शक्तिशाली गुण्डा हुँ भनी जनतासामु रूप प्रदर्शनी गर्दैछन् ओली र राष्ट्रपति विद्यादेवी भण्डारी । हुन त आन्तरिक रूपमा निकै अगाडिदेखि बेमेल भए तापनि सहमतिअनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोधी ओली नै त्यही यो नेपालको परिकल्पना नगर्ने व्यक्तिलाई पार्टीले प्रधानमन्त्री बनाएर उच्च सम्मान दियो ।

देशको ढुकुटीबाट करोडौं खर्च गरी सम्पन्न गरिएको स्थानीय र संघीय चुनावको लागतको हेक्का नै नराखी, जनताको जनादेशलाई लत्याएर, जनताले दिएको मतको मतपत्रमाथि अपमान गरी च्यातचुत पारेर फेरि जनतामा जान चाहन्छु भन्ने पाखण्डीपनालाई अब कसरी जनताले श्रेय दिन्छन् ?

यहाँ संविधानको पक्ष र संविधानको विपक्षको कुरा आउँछ । संविधानमा लेखिएको संविधानको मर्मलाई अपमान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसान गराउने खेल खेल्ने, सांसदहरूलाई जनताले पाँच वर्षको लागि दिएको विकास र समृद्धिको अनुमतिलाई अपमान गर्ने व्यक्तिलाई देशको कार्यकारी पदमा राखिरहनु असंवैधानिक र गैह्र कुटनीतिक कार्य हो ।

सम्मानित सर्वोच्च अदालतलाई अपमान हुनेगरी अभिव्यक्ति दिने, निर्वाचन आयोगमा गएर धम्की दिने, मन्त्रालयमा इमान्दारसाथ काम गरिरहेका मन्त्रीहरूलाई गुण्डाको शैलीमा पदच्यूत गर्ने, देशको संविधान, पार्टीको नीति र विधानको वकालत गर्ने सबैलाई शत्रूको व्यावहार गरी श्री ५ हुन खोज्ने अवैधानिक प्रधानमन्त्रीलाई कसरी सहने जनताले ?

 

यदि देश फेरि तेस्रो जनआन्दोलनमा जानुपर्ने हो भने, पूर्व राजा ज्ञानेन्द्र शाहले राजाको गद्दी त्यागेर नागार्जुन गएर बस्नुपरेझैं, कमल थापा र तुलसी गिरीको नाम सुन्न नपाएझैं ओली र तिनका प्यानलको भविष्यले त्यही हविगत भोग्दैछ ।

 

व्यक्तिभन्दा पनि जनता र सजग नेता/नेतृहरूले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संरक्षणको लागि बोल्ने, काम गर्नेहरूलाई अपराधीको व्यावहार गर्नेलाई अब कसरी सहेर बस्ने जनताले ?

प्रतिनिधिसभा विघटनपश्चात अवैधानिक रूपमा राज्यलाई गुण्डाको शैलीमा हाँक्ने, संवैधानिक निकायहरूमा आफूखुशी आफूनिकटहरूलाई नियुक्ति गर्ने प्रकारका गैह्र प्रजातान्त्रिक, गैह्र लोकतान्त्रिक काम गरिरहेका ओलीले आफूलाई अतिनै राष्ट्रवादी पुष्टि गर्न तथा आफ्नो पक्षमा मत तान्न विभिन्न अयोग्य व्यक्तिहरूलाई पनि राष्ट्रका मूल स्थानहरूमा राखिरहनुले तिनको देशप्रतिको चासो होइन, तर तिनको पदप्रतिको चासो कति रहेछ भनी प्रमाणित गरिरहेको छ ।

राष्ट्रपतिले गरेको गलत निर्णयले देशको अधोगति भएको र देशलाई पुनः द्वन्द्वतिर लम्काएको अनि १० वर्ष देशलाई पछाडि धकेलेको घाटा ओलीले व्यहोर्ने कि विद्याले व्यहोर्ने हो यसको छिनोफानो जनताले गर्ने नै छन् ।

प्रधानमन्त्रीको पदमा रहेर एउटा सर्वसाधारणको जस्तो अभिव्यक्ति दिँदै प्रधानमन्त्रित्वकै वेइज्जत गर्ने असंवैधाकि प्रधान्मन्त्री ओलीलाई हदैसम्मको जेल सजाय हुनुपर्दछ । आफूखुशी देशको गरिमामा खेल्ने र जनआन्दोलनको मूल्यलाई माटोमा मिलाएर देशलाई अधोगतितिर लैजाने ओलीलाई र तिनका सहकर्मी, सल्लाहकारलाई हदैसम्मको कारवाही हुनु जरुरी छ ।

देशका सबै संयन्त्रहरूलाई कब्जा गरेर, असंवैधाकि कू गर्दा पनि संवैधानिक प्रश्नका गलत उत्तर दिन लगाउन तयार गरिएका कुनै व्यक्तिहरूलाई पनि जनताले क्षमा गर्ने छैनन् । यदि देश फेरि तेस्रो जनआन्दोलनमा जानुपर्ने हो भने, पूर्व राजा ज्ञानेन्द्र शाहले राजाको गद्दी त्यागेर नागार्जुन गएर बस्नुपरेझैं, कमल थापा र तुलसी गिरीको नाम सुन्न नपाएझैं ओली र तिनका प्यानलको भविष्यले त्यही हविगत भोग्दैछ ।

प्रधानमन्त्री देशको विकास होइन, तर घूसखोरी, भ्रष्टाचारी, बलात्कारी, गुण्डा र चम्चेहरूको संरक्षण गरी आफूलाई भ्रष्टहरूको नाइके बनाउन व्यस्त छन् । राष्ट्रको ढुकुटीबाट आमसभा गरी उखान टुक्का गर्न र आफ्ना प्रतिद्वन्दीहरूलाई नीच प्रकारको गालि गर्न व्यस्त भएको यस देशमा संवैधानिक प्रश्न सम्मानित अदालतले पनि उठाएको सुन्न पाइएको छैन ।

आफूलाई मनलागी अद्य्यादेश ल्याएर संसदको, राष्ट्रियसभाको अनि जनताको मर्मलाई माटोमा मिलाउँदै फेरि त्यही जनतासामु आफूलाई लाचार र भ्रष्टहरूको नाइके भनी चिनाउन भोट माग्ने बहानामा जाँदैछन् । यही ताल हो भने, देशलाई ओलीले लेण्डुप दोर्जेले सिक्किम भारतलाई बेचेझैं नेपाल नबेच्लान् भनी भन्न सकिन्न ।

पार्टीभित्र र सदनमा चर्को विरोध हुँदाहुँदै तिनी विभिन्न प्रकारका खोक्रो राष्ट्रवाद देखाउने प्रयास गर्दागर्दै लिपुलेक कालापानीको भूमि नेपालले पाएन, केवल नक्शा मात्र पायो, त्यही नक्शालाई विद्यालयहरूका पाठ्यसामाग्रीहरूमा छापिए तापनि त्यसलाई अहिले पठनपाठन नगर्नु भनी रोक लगाएर जनतालाई झुक्याए । आफू जोगिन अरुलाई झुक्याउन खप्पिस ओलीले सारा जनतालाई झुक्याए ।

पूर्वमाओवादीका लडाकुहरूलाई हात लिन हदैसम्मको प्रयास गरिरहेका छन्, अर्को पार्टीबाट जो आए पनि कि त मन्त्री कि त विभिन्न संगठनको संयोजक बनाएर मन जितिरहेका छन् । देशको लागि राजनीति गर्नेहरू ओलीको पछि लाग्दैनन्, तर आफ्नो घर बनाउने नीति लिएकाहरू ओलीको संविधान विरोधी नीतिलाई अबलम्बन गरिरहेका छन् ।

याद रहोस्, धेरै योग्य मन्त्रीहरूलाई अयोग्य बनाएर अनपढ ओलीले आफूलाई फेसबुक वालका राष्ट्र नायक बनाएका छन्, तर सजग जनताले ओली राष्ट्र नालायक भनेर चिनिसकेका छन् । अब देशको भविष्यको चिन्ता गर्ने र मरिमेट्नेहरूको खाँचो यो देशमा छ, इतिहास मेट्नेहरूको होइन ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement