Advertisiment

विरानो शहरमा विरानो सरकार !


इच्छा गुरुङ । ‘समय कस्तो आएछ …चिउरा पानी खाएर बस्नुपर्ने…? यस्तो दिन पनि आउला भनेर कसले सोचेको थियो र… ?’

बन्द सटरको पेटीमा वारि र पारि बसेर दुई महिलाहरू बात मार्दै गरेको मेरो कानले सुनिहाल्यो ।

दोस्रो चरणको लक डाउन र निषेधाज्ञा सुरू भइसकेको थियो । त्यो दिन कथाहरूको खोजिमा म डल्लुहुँदै न्युरोडतिर जाँदै थिएँ ।

ती महिलाहरूको वाक्यले मन चसक्क खायो ।

उनकाे कुरा सुनेर लाग्यो ति महिला अचेल साँझ विहान भान्छामा दाल भातको सट्टा फुको चिउरा र पानी पस्किन्छिन् ।

अनि उनका सानो बच्चाले भन्दो हो, “आमा चिउरा नखाने…भात किन नपकाएको…”

ती महिला पुलुक्क श्रीमानलाई हेर्दी हुन्, श्रीमान लोटाको पानी कलकल पिएर उठेर जाँदो हो, किनकी उनले काम गर्ने गार्मेन्ट बन्द छ, उनीसँग चामल किन्ने पैसा छैन ।

‘भोलि बा’ले चामल ल्याउनुहुन्छ अनि पकाउँला है भात…’ , ती महिलाले झुटो आशा देखाएर फुल्याउँछिन् बच्चालाई ।

इच्छा गुरुङ

दुई महिलाको वार्तालाप सुनेर अगाडि जाँदै गर्दा यो सबै मैले कल्पना गरेको दृश्य थियो ।

सोच्दा–सोच्दै म त रत्नपार्कको बसपार्कअघि पुगिसकेछु । पर–परसम्म केही चालचूल नदेखिएको खालि सडक त्यहाँ पुग्दाचाहिँ मान्छेहरूको बाक्लो चहल–पहल देखेर म छेउ लागेर रोकिएँ । दिउँसोको ३:३० बजेको थियो ।

त्यतिबेला करिब २०० जना जती मान्छेहरू थिए । निषेधाज्ञाले काठमाडौंमा अड्किएका जिल्ला बाहिरकालाई बस व्यवस्था गरेर घर पठाइँदै गरेको हो कि भन्ने सोचेँ । किनकी प्रायःले झोला बोकेका थिए । फेरि बसपार्कमै जम्मा भएका थिए ।

‘भाइ हो, यहाँ किन यति धेरै मान्छेहरू जम्मा भएको…?’, बाटो छेउमा उँभिएका ३ जनालाई सोधेँ, ‘अहिले ५ बजे यहाँ भात बाँड्छन्, भात खान भेला भएका हुन् दिदी ।’

अहो ! मनै भारी भो, उनीहरू पनि भातकै लागि ३ बजेदेखि आएर ५ कहिले बज्छ भन्दै बसिरहेका रहेछन् ।

‘भात बाँड्ने को हो चिन्नुहुन्छ त..?’ , मैले सोधेँ ।

‘खै आमा भन्छन् सबैले…’  बुझ्दा थाहा भयो त्यहाँ खाना बाँड्न समाजसेवी इन्दिरा राना मगर आउनुहुँदो रहेछ ।

चैत्र ११ गतेबाट सुरू भएको लक डाउनसँगै उहाँ निरन्तर भोकाएकाहरूको साहारा बन्दै आउनुभएको छ ।

दिपक अधिकारी–उदयपुर, अँकित लिम्बू–इलाम, अमित खड्का–रोल्पा जिल्लाबाट काठमाडौँ आएका थिए पहिलो लक डाउन हुनुभन्दा १५ दिन अगाडि । यहीँ आएपछि उनीहरू साथी बनेका हुन् ।

काठमाडौं शहर आए लगत्तै ज्यामी काम त पाए, तर चैत्र ११ गतेबाट कोरोना संक्रमणको कारण सरकारले लक डाउन घोषणा गरे लगत्तै उनीहरूको भोकको संघर्ष सुरू भएछ ।

‘मिलेर बस्न रु. ६,००० मा डेरा पनि पाइएको थियो, भाँडाकुँडा पनि ठीक्क पारेका थियौँ, लक डाउन सुरू भयो, काम पनि रोकियो…अनि सबै लथालिङ्ख भयो । डेरामा बस्न पनि दिएनन् …१५ दिन काम गरेको पैसाले अलि दिन सस्तो गेष्ट हाउसमा बस्यौं…पैसा सकियो अनि सडकमा आइपुग्यौं हामी…’ दिपक अधिकारीले बताए ।

‘पहिलो लक डाउनकै बीचमा घर जान चाहनेहरूलाई विभिन्न संस्थाले बसको व्यवस्था गरेर पठाएको थियो त किन घर नफर्किनुभएको त…’ मैले सोधेँ ।

‘हामीले थाहै पाएनौं, हामीले कोही नेता, ठूलो मान्छे कोही चिन्या छैन दिदी, यस्तै सडकमा यता उती भौंतारिँदै बितिरहेको छ, दुवै लक डाउन…’, अंकित लिम्बूले बताए ।

‘घर जान पाए त जान्थ्यौं नि…गाँउ घरमा त भोकै परिन्न, छरछिमेकमा अ‍ैंचो–पैंचो, खोले–फाँडो चल्छ, शहरमा त छिमेकमा गयो भने त ढोका लगाउँदा रहेछन् …कति त भोक–भोकै पानी मात्र पिएर बसेका छौं…यहाँ भात बाँड्ने थाहा पाएपछि भने बेलुकाको एक छाक खान पाएका छौं…विहान बाँडिदैन रहेछ, दिनभरि त्यत्तिकै बस्ने हो पानी पिएर…’, दिपकले बताए ।

दुई साथीहरू पालैपालो बोलिरहँदा तेस्रो साथी अमित खड्का मौन थिए ।

बाटो छेउको बारमा अडेश लागेर साथीहरूको कुरा सुनिरहेका थिए ।

घरिघरी सैनिक मञ्चतिर निराश नजर डुलाउँथे । उनी रोल्पाबाट काठमाडौं आएका भनेपछि उनमा अन्य केही फरक महसुस गरिरहेकी थिएँ ।

‘उहाँ त रोल्पाली पर्नुभएछ, तपाईंको जिल्ला त तात्कालीन माओवादीले जनयुद्ध सुरू गरेको जिल्ला है…???’ अमिततिर फर्किएँ म ।

हो नी २ वर्ष त म पनि माओवादी सेनामै थिएँ ।

‘ओहो अनि त्यसपछि छोड्नुभएको हो र…?’ मलाई उनको कुराले कौतुहलता जगायो । उनी त एक पूर्व–माओवादी लडाकु रहेछन् ।

‘पहिले त नीति राम्रो लागेर माओवादी भईयो, बेनीको आक्रमणसम्म लडेको हुँ, त्यसपछि नेताहरूको व्यावहार चित्त बुझेन अनि छोडेर हिँडेको…।’

‘त्यसरी हिँड्न दिएछन् त…!!!’

‘कहाँ सजिलो थियो र…त्यसरी पार्टी छोडेपछि सात वर्षसम्म लुकेर हिँड्नुपर्‍यो । घरमा जान पाइएन । भेटे सिध्याउँथे नि…पछि शान्ति सम्झौता भएपछि बल्ल घर गएको । अहिले त माओवादी कहाँ छ र …नेकपा भइहाल्यो, नेताहरू एक ठाउँमा मिले…पहिलो लहरमा लड्ने सिपाहीहरू र हामीजस्ताहरू यसरी सडकमा छौं…पहिलेको भन्दा पनि अवस्था दयनीय छ, हामीजस्ता श्रमिकको नाराले नेताहरू माथि पुगे श्रमिकको अवस्था यस्तो छ…।।।’

अमितको अनुहार, हाउभाउमा चरम असन्तुष्टिको भाव प्रष्टै देखिन्थ्यो ।

मैले लामो सास फेरेँ ।

अमित, अकिँत, दिपकहरूजस्ता धेरै श्रमिकहरू रत्नपार्कमा साँझ बाडिने एक छाक भातको लागि दिउँसोदेखि कुरिरहन्छन् ।

नागरिक यसरी भोकै एक छाक भातको लागि सडकमा भौंतारिई रहँदा कोरोनाका नाममा भइरहेका अनियमिता झल्झली सम्झिएँ ।

श्रमिकहरूको हक अधिकारका लागि खुलेका अनेकन सरकारी, गैरसरकारी संस्थाहरू सम्झिएँ ।

श्रमिकका नाममा करोडौं बजेट कुम्लयाउँछन् तर श्रमिकहरूको लागि के गरियो त ? ती संस्थाहरूको पहलमा अहिलेको अवस्थामा भोका श्रमिकहरूलाई एक छाक भातको पहल गरेकोसम्म कतै सुनिएको छैन ।

अमित, अकिँत, दिपकजस्ता लाखौं श्रमिकहरू लक डाउनको कारण स्वदेशमा मात्र होइन विदेशमा समेत नेपाली श्रमिकहरू बेवारीसे बनिरहेका छन् ।

खाडी मुलुकमा भिसा सकिएका, कम्पनी बन्द भएर अलपत्र परेका नेपाली श्रमिकहरू विरानो शहरमा आफन्तको सम्झना, रोग, भोकले छटपटाई रहेका छन् ।

कसैको उतै मृत्यु भएको दुःखद् समाचारहरू सुन्न बाध्य छौं । खाडी मुलुकका नेपाली श्रमिकहरूलाई उद्धार गर्ने भनेर नेपाल सरकारले उडान त सुरू गरेको छ तर चर्को हवाई टिकट, त्यसमा पनि कमिसन र आफन्तवाद थपिँदा अर्को भार श्रमिकलाई नै परिरहेको छ ।

टिकटको लागि कतिसम्म सास्ती खप्नुपरेको छ, कडा लक डाउनमा एनएसी केन्द्रीय कार्यलयको ढोकामा दिन–दिनै पुग्ने आफन्तलाई सोधे थाहा पाईंन्छ ।

यी समस्याहरूको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ कि यो सबै नागरिकले भोग्नै पर्ने नियति मान्नुपर्ने हो ?

‘लक डाउन त फेरि भाद्र २४ सम्म थप भएको थाहा पाउनुभयो होला, हप्तादिन भन्दै कहिलेसम्म लम्ब्याउने हो ठेगान छैन । बिस्तारै ठूलो चाड पर्व पनि नजिक आउँदैछ… अब के सोच्नुभएको छ त ?’, म फेरि दिपक, अंकित, रूपकहरूतिर फर्किएँ ।

‘यो लक डाउन नभए त काम गरेर खाएकै हो नि दीदी, यसरी भात ढुकेर बस्न कहाँ मन लाग्छ र ? कमाउन भनेर आ’को हो जे काम पनि गरिन्छ । केही काम नपाए भाँडा पनि माझिन्छ तर…सरकारले लक डाउन खोल्नुपर्छ नत्र हामीजस्ता श्रमिकहरू रोगले होइन भोकले मर्छौं । चाडपर्व त जसो होला देखा जाला । तर लक डाउन भइरहने हो भने त यहाँ कसरी बाँच्नु र खै…? सरकारले केही व्यवस्था गरीदिए, हामी आफ्नै घर फर्कन तयार छौं बरु ।’

दिपक अधिकारीको भनाइमा अंकित र अमित पनि सही थप्नुभयो ।

भात खान आउने श्रमिकहरूको भीड बढ्दै थियो, सबै सलबलाउन थाले लगतै अमित, अंकित, दिपक पनि आङ्ग तान्न थाल्नुभयो ।

यसो घडी हेरेको साँझको ४:३० हुँदै थियो ।

सूर्य पश्चिमतिर ओर्लिंदै थियो तर लक डाउनमा पिल्सिएका उनीहरूका भोकको तापक्रम १०२ डिग्रीभन्दा माथि उक्लिँदै थियो ।

दिपक अधिकारी–उदयपुर
अंकित लिम्बू–इलाम
अमित खड्का–रोल्पा

#गल्ली गल्लीका कथाहरू

इच्छा गुरुङका अन्य लेखका लागि यहाँ क्लिक गर्नुहाेस्

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment