देवघाटमा सभागृह निर्माण

पढ्न लाग्ने समय : मिनेट

तनहुँको देवघाट गाउँपालिकामा–५ कुँदीमा गण्डकी प्रदेश सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा आधुनिक सभाहल निर्माण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिम कम गर्न देशभर बन्दाबन्दी गरिएकै समयमा गाउँपालिकामा सभाहल निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । सभाहलमा झ्याल, ढोका हाल्ने र रङ लगाउने काममात्र बाँकी छ ।

चालू आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण अफ्ठ्यारो पर्ने अवस्था आएपछि निर्माण व्यवसायीले सबै मजदूरलाई त्यहीँ नै खाने-बस्नेको व्यवस्था गरी निरन्तर काममा लगाएर सभाहल निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय तनहुँसँग समन्वय गरेर निर्माण सामग्री ढुवानी गरी कामलाई निरन्तरता दिइएको थियो । ५ रोपनी क्षेत्रफलको जग्गामा निर्माण गरिएको उक्त सभाहल तीन सय क्षमताको छ । सभाहलमा दुई साना कोठा छन् । लागत अनुमान रु १ करोड भएपनि टेन्डर प्रक्रियामार्फत रु ९५ लाख ५४ हजार तीन सय ३३ को लागतमा भवन निर्माण गरिएको छ ।

त्यस्तै रु ४ लाख ८५ हजार चार सय ४१ को लागतमा सभाहलमा जिप्सम लगाउने काम सम्पन्न भएको छ । सभाहलमा कम्पाउन्ड लगायतका काम सम्पन्न गर्न रु २२ लाख ५४ हजार पाँच सय २६ आवश्यक पर्ने देखिएकाले उक्त रकम प्रदेश सरकारसँग माग गरिएको छ । “गाउँपालिकामा सुविधासम्पन्न सभाहल नहुँदा कार्यक्रमहरू गर्नुपर्दा समस्या पर्ने गर्दथ्यो, नयाँ सभाहल बनेपछि सहज हुने भयो”, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । सभाहल निर्माण कम्पनीले गाउँपालिकालाई आइतबार हस्तान्तरण गरेको छ ।